
सरिता ढकाल
गध्य किबता
प्रेम,सृष्टिको आरम्भदेखि अनन्तसम्म फैलिएको अनुभूतिको उज्यालो,
जहाँ स्वार्थका छायाहरू हराउँछन्,समर्पणका दीपहरू बलिरहन्छन्।
राधा थिइन्—
जसले कृष्ण आफ्ना होइनन् भन्ने सत्यलाई
आँखाभरि राखेर पनि हृदयभरि पूजा गरिरहिन्,
विरहका अनगिन्ती रातहरूमा
स्मृतिका दीपहरू निभ्न दिइनन्।
कति अद्भुत थियो त्यो मन !
पाउने अधिकारभन्दा धेरै
मायाको अस्तित्व जोगाउने चिन्ता बोकेको।
रुक्मिणी पनि कम विलक्षण कहाँ थिइन् र !
आफ्नै प्रियको मनमा अर्कैको प्रतिछाया देखेर पनि
ईर्ष्याको आगोमा होइन,
धैर्यको समुद्रमा डुबुल्की मारिरहिन्।
कति विशाल थियो त्यो हृदय !
जहाँ पीडाले कोलाहल मच्चायो,
तर ओठहरूले मौनताको व्रत तोडेनन्।
प्रेमका शास्त्रहरू शब्दले लेखिँदैनन्,
त्यागका आँसुहरूले लेखिन्छन्;
समर्पणका घाउहरूले लेखिन्छन्;
प्रतीक्षाका लामो यात्राहरूले लेखिन्छन्।
राधाको विरह,
रुक्मिणीको धैर्य,
कृष्णको स्मृति—
यी सबै मिलेर प्रेमको त्यही अमर महाकाव्य रच्छन्
जसको प्रत्येक हरफमा
निस्वार्थताको सुगन्ध बासना बनिरहन्छ।
प्रेम पाउने उत्सव मात्र होइन,
कहिलेकाहीँ नपाएर पनि
मनको सिंहासनमा कसैलाई जीवनभर सजाइराख्ने साहस पनि हो।
त्यसैले प्रेमको सर्वोच्च शिखरमा
अधिकारभन्दा माथि त्याग उभिएको हुन्छ,
र त्यागभन्दा माथि
मौन समर्पण।
(लेखिका ढकाल न्यूज लाईन्स् नेपाल डटकमको सम्पादक हुनुहुन्छ )


