
काठमाडौं । नेपाल फुल कन्ट्याक्ट कराते महासंघको आयोजनामा प्रथम राष्ट्रिय फुल कन्ट्याक्ट कराते प्रतियोगिता आज शनिबारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सुरु भएको छ ।
प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहता ले एक कार्यक्रमबीच गरेका हुन् ।
महासंघका अध्यक्ष सूर्य बहादुर बुढाथोकी ले प्रतियोगिताले नेपाली खेलकुद क्षेत्रमा नयाँ ऊर्जा थप्ने विश्वास व्यक्त गर्दै फुल कन्ट्याक्ट करातेलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने लक्ष्य रहेको बताए ।
उनले भने, “नेपालमा पहिलोपटक राष्ट्रिय स्तरमा फुल कन्ट्याक्ट कराते प्रतियोगिता आयोजना गर्न पाउँदा हामी उत्साहित छौं । यस प्रतियोगिताले नयाँ प्रतिभावान खेलाडी उत्पादन गर्नुका साथै नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि तयार बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ ।”
उनका अनुसार प्रतियोगितामा सातै प्रदेश, नेपाल आर्मी तथा एपीएफका गरी १ सय २५ खेलाडी सहभागी छन् । प्रतियोगितामा पुरुष खुला, पुरुष ५५ केजीमुनि, महिला खुला तथा महिला ५० केजीमुनि गरी चार स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ ।
चारै स्पर्धामा उत्कृष्ट प्रदर्शन गर्दै शीर्ष तीन स्थान हासिल गर्ने खेलाडीले क्रमशः २० हजार, १० हजार र ५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
अध्यक्ष बुढाथोकीले आगामी दिनमा अझ व्यवस्थित र अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रतियोगिता आयोजना गर्दै फुल कन्ट्याक्ट करातेलाई देशव्यापी रूपमा विस्तार गरिने समेत जानकारी दिए । प्रतियोगिता आइतबार सम्पन्न हुनेछ ।


