
काभ्रेपलाञ्चोक जिल्लाको पनौती वडा नं. १० मा अवस्थित ऐतिहासिक नट्सिङ मठमा पुरुषोत्तम महिनाको अवसर पारेर भगवान नरसिंहको विशाल नयाँ मूर्ति स्थापना गरिएको छ। करिब १४ सय वर्ष पुरानो इतिहास बोकेको यो मठ धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक दृष्टिले अत्यन्त महत्वपूर्ण मानिन्छ।
स्थानीय किंवदन्ती र इतिहासअनुसार यो मठको संरक्षण तथा सञ्चालन भारती परिवारले पुस्तौंदेखि गर्दै आएको छ। विगतको विनाशकारी भूकम्पबाट मठमा ठूलो क्षति पुगेपछि स्थानीय बासिन्दा र भक्तजनहरूको सक्रिय पहलमा यसको पुनर्निर्माण तथा मर्मतसम्भार गरिएको थियो। हाल मठ भव्य स्वरूपमा पुनः स्थापित भएको छ।
यसै अवसरमा भगवान नरसिंहको विशाल मूर्ति निर्माण गरी प्रतिष्ठापन गरिएको छ। पुरुषोत्तम महिनाको धार्मिक महत्त्वलाई मध्यनजर गर्दै मठमा विशेष पुरुषोत्तम महायज्ञ सञ्चालन गरिएको छ, जुन जेष्ठ १३ बाट ३१ गतेसम्म चल्ने बताइएको छ। महायज्ञमा विभिन्न धार्मिक व्यक्तित्व तथा विद्वानहरूको सहभागिता रहेको छ।
नट्सिङ मठ केवल धार्मिक आस्थाको केन्द्र मात्र होइन, सत्य र धर्मको विजयको प्रतीक पनि हो। पुराणहरूमा वर्णित कथा अनुसार दैत्यराज हिरण्यकशिपु ले भगवान विष्णुका अनन्य भक्त प्रह्लाद माथि अनेक दुःख र अत्याचार गरेका थिए। भक्त प्रह्लादको रक्षा गर्न तथा अधर्मको अन्त्य गर्न भगवान नरसिंह अवतार प्रकट भई हिरण्यकशिपुको वध गर्नुभएको थियो। यस घटनाले सत्य, धर्म र भक्तिको अन्ततः विजय हुने सन्देश दिन्छ।
आजको समाजमा पनि असत्य, अन्याय र अत्याचार अस्थायी रूपमा शक्तिशाली देखिए तापनि अन्ततः सत्य र धर्मकै विजय हुने विश्वास यस मठको इतिहास र धार्मिक परम्पराले दिलाउँछ। प्राकृतिक सौन्दर्यले भरिपूर्ण यस पवित्र स्थलमा स्थानीय समुदाय, भारती परिवार तथा भक्तजनहरूको सहयोगमा गरिएको संरक्षण, पुनर्निर्माण र धार्मिक गतिविधिले नेपालको धार्मिक सम्पदा जोगाउने अभियानलाई थप बल पुर्याएको छ।
नट्सिङ मठको संरक्षण, भगवान नरसिंहको विशाल मूर्तिको स्थापना तथा पुरुषोत्तम महायज्ञको आयोजना धार्मिक आस्था, सांस्कृतिक सम्पदाको संरक्षण र भावी पुस्तालाई इतिहास हस्तान्तरण गर्ने महत्वपूर्ण प्रयासका रूपमा देखिएको छ।


