
धादिङ । धादिङ जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका स्थित ऐतिहासिक तथा धार्मिक स्थल श्री नृसिंहधाम मा जारी विशेष धार्मिक मेलाको अवसरमा दर्शनार्थीहरूका लागि निःशुल्क खानेपानी वितरण गरिएको छ।
स्थानीय समाजसेवी मनोज कँडेलको संयोजकत्वमा सञ्चालन गरिएको अभियानअन्तर्गत विश्वप्रसिद्ध पेस्ट्री सेफ सरोज थापा ले १०० कार्टुन मिनरल वाटर निःशुल्क उपलब्ध गराएर अभियानको सुरुवात गर्नुभएको हो। अत्यधिक गर्मी र देशका विभिन्न स्थानबाट मेलामा आएका भक्तजनहरूको सुविधालाई ध्यानमा राख्दै उहाँले आफ्नै व्यक्तिगत खर्चमा पानी वितरणको व्यवस्था मिलाउनुभएको बताइएको छ।
मेला व्यवस्थापन समिति तथा स्थानीय स्वयंसेवकहरूको सहयोगमा तिर्खाएका दर्शनार्थीहरूलाई पानी वितरण गरिएको थियो। मेलामा सहभागी भक्तजनहरूले यस्तो सेवामूलक कार्यले धार्मिक यात्रामा सहजता थपेको बताएका छन्।
यससँगै सेफ थापाले श्री नृसिंहधाम गुरुकुल मा अध्ययनरत वटुकहरूको दिगो भोजन व्यवस्थापनका लागि पनि विशेष पहल सुरु गर्नुभएको छ। गुरुकुलका विद्यार्थीहरूलाई खानपिनको समस्या नहोस् भन्ने उद्देश्यले उहाँले देश–विदेशमा रहेका नेपाली तथा विभिन्न दाताहरूसँग समन्वय गरिरहनुभएको जनाइएको छ।
यसै अभियानअन्तर्गत बिनोद थापा ले गुरुकुलका विद्यार्थीहरूको भोजन व्यवस्थापनका लागि रु. ४० हजार आर्थिक सहयोग प्रदान गर्नुभएको छ। त्रिपुरासुन्दरी गाउँपालिका–७ निवासी तथा हाल अमेरिकामा रहनुभएका थापाको सहयोगप्रति श्री नृसिंहधाम परिवारले आभार व्यक्त गरेको छ।
सेफ सरोज थापाले धार्मिक तथा सामाजिक सेवामा योगदान दिन पाउँदा आत्मसन्तुष्टि मिलेको बताउँदै भन्नुभयो, “आफ्नो जन्मभूमि र त्रिपुरासुन्दरीको पवित्र श्री नृसिंहधाममा आएका भक्तजनहरूलाई यो गर्मीमा सानो भए पनि सहयोग गर्न पाउँदा खुसी लागेको छ। साथै गुरुकुलका विद्यार्थीहरूको भोजन व्यवस्थापनका लागि बिनोद थापाज्यूजस्ता मनकारी व्यक्तित्वहरूले देखाउनुभएको उदारता प्रेरणादायी छ। धर्म, संस्कार र सेवा नै सबैभन्दा ठूलो कुरा हो।”
मेलामा आएका भक्तजनहरूले संयोजक मनोज कँडेल, सेफ सरोज थापा तथा बिनोद थापाको योगदानको प्रशंसा गर्दै धन्यवाद व्यक्त गरेका छन्। गुरुकुल व्यवस्थापन तथा मेला समितिले यस्ता सामाजिक कार्यले अन्य व्यक्तिहरूलाई पनि समाजसेवामा प्रेरित गर्ने विश्वास व्यक्त गरेको छ।


