
फेरि एउटा घर उजाडियो। फेरि एउटी छोरीको सपना चकनाचुर भयो। फेरि एउटी आमाको काख रित्तियो। फेरि एउटी बहिनीको मुस्कान सधैँका लागि हरायो। र फेरि समाजले अर्को प्रश्नको सामना गर्नुपर्यो—आखिर एक चिम्टी सिन्दुरको मूल्य नारीको ज्यान नै किन बन्ने?
जुन हातले विवाहको मण्डपमा सिन्दुर रङ्ग्यायो, जुन हातले जीवनभर साथ दिने कसम खायो, त्यही हातले जब नारीको जीवनको अन्त्य गरिदिन्छ, तब केवल एउटा व्यक्ति मर्दैन, मानवता नै लज्जित हुन्छ। प्रेम, विश्वास र सुरक्षाको प्रतीक हुनुपर्ने सिन्दुर जब मृत्युको संकेत बन्न थाल्छ, तब समाजको चेतनामाथि नै गम्भीर प्रश्न उठ्छ।
पति–पत्नीबीच विचार नमिल्न सक्छन्, सम्बन्धमा दूरी आउन सक्छ, बाटो अलग हुन सक्छ। तर कसैको मन नमिल्दैमा उसको सास फेर्ने अधिकार खोस्ने अधिकार कसैले पाउँदैन। सम्बन्ध विच्छेदको विकल्प छ, कानुनी बाटो छ, अलग भएर सम्मानपूर्वक बाँच्ने अवसर छ। तर किन अझै पनि नारीको जीवनमाथि क्रूरताको अन्तिम प्रहार गरिन्छ?
हरेक दिनजसो समाचारका शीर्षकहरू रगतले रङ्गिएका देखिन्छन्। कतै दाइजोको निहुँमा, कतै शङ्काको नाममा, कतै पुरुष अहङ्कारको नशामा, त कतै सम्बन्धको विवादमा नारीहरू आफ्नै घरभित्र असुरक्षित भइरहेका छन्। जुन घरलाई उनीहरूले आफ्नो संसार ठाने, त्यही घर कहिलेकाहीँ उनीहरूको चिहान बन्न पुगेको छ।
एक छोरी जन्मँदा आमाबाबुले हजारौँ सपना देखेका हुन्छन्। उनी हाँस्दा घर उज्यालो हुन्छ, उनी रोँदा घरको मुटु दुख्छ। त्यही छोरी जब विवाहपछि नयाँ संसार सजाउने सपना बोकेर अर्को घर पुग्छे, उसले प्रेम, सम्मान र सुरक्षाको अपेक्षा गरेकी हुन्छे। तर जब उसैको जीवन निर्दयी हातहरूले खोसिन्छ, तब केवल एउटा परिवार होइन, सिंगो समाज घाइते बन्छ।
प्रश्न केवल एउटा घटनाको होइन, यो प्रश्न राज्यको जिम्मेवारी, कानुनको प्रभावकारिता र समाजको चेतनासँग जोडिएको छ। घटना भएपछि शोक व्यक्त गर्ने, श्रद्धाञ्जली दिने र केही दिन चर्चा गर्ने प्रवृत्तिले मात्र समस्या समाधान हुँदैन। अपराधीले कानुनको कठोरता महसुस नगरेसम्म, पीडितले न्यायको अनुभूति नगरेसम्म र समाजले नारीलाई समान मानवको रूपमा सम्मान गर्न नसकेसम्म यस्ता घटनाहरू दोहोरिइरहने खतरा रहन्छ।
नारी कुनै वस्तु होइन, कुनै सम्पत्ति होइन, कसैको स्वामित्वभित्र सीमित अस्तित्व होइन। उनी सृष्टिकी जननी हुन्, ममता, त्याग, करुणा र संघर्षको जीवित प्रतिमूर्ति हुन्। उनको जीवन, स्वतन्त्रता र सम्मान कुनै पनि सम्बन्धभन्दा माथि छ।
आज समयले फेरि सोधिरहेको छ—कहिलेसम्म नारीका सपनाहरू सिन्दुरसँगै जलिरहने? कहिलेसम्म उनका रहरहरू हिंसाको आगोमा खरानी बनिरहने? कहिलेसम्म एउटी छोरीले आफ्नो जीवनको मूल्य केवल विवाह र सम्बन्धको नाममा चुकाइरहनुपर्ने?
भगवान्सँग यही प्रार्थना छ—अब कुनै पनि नारीको सिन्दुर रगतसँग नमिसियोस्। कुनै पनि छोरीको सपना विवाहको नाममा समाप्त नहोस्। कुनै पनि आमाको काख फेरि यसरी रित्तिन नपरोस्। सिन्दुर प्रेमको प्रतीक बनोस्, मृत्युको होइन; सम्मानको प्रतीक बनोस्, अत्याचारको होइन; जीवनको उत्सव बनोस्, जीवनको अन्त्यको कारण होइन।
अब समय आएको छ—नारीको मौन पीडालाई न्यायको आवाजमा बदल्ने, हिंसामाथि मानवताको विजय स्थापित गर्ने, र यस्तो समाज निर्माण गर्ने जहाँ कुनै पनि छोरीले आफ्नो बाँच्ने अधिकारका लागि डराएर होइन, गर्वका साथ जीवन जिउन पाओस्।
हार्दिक श्रद्धाञ्जली इश्वरी भुजेल।
तपाईंको आत्माको चिरशान्तिको कामना गर्दछौँ।
ईश्वरले शोकाकुल परिवारलाई यो असह्य पीडा सहन सक्ने शक्ति प्रदान गरून्। 🕯️
(लेखिका ढकाल न्यूज लाईन्स् नेपाल डटकमको सम्पादक हुनुहुन्छ )


