दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

इप्पानको नयाँ नेतृत्वद्वारा सपथग्रहण, सचिव कृष्ण घिमिरेद्वारा ऊर्जा क्षेत्रमा आमूल परिवर्तनको प्रतिबद्धता

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ जेष्ठ ३१ गते, आईतवार २१:०८

काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को नवनिर्वाचित नेतृत्वले आइतबार काठमाडौंस्थित याक एण्ड यती होटलमा आयोजित विशेष समारोहबीच पद तथा गोपनीयताको सपथ ग्रहण गरेको छ। सपथग्रहणपछि नवनिर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरूलाई निवर्तमान अध्यक्ष गणेश कार्की र निर्वाचन समितिका प्रमुखले प्रमाणपत्र प्रदान गरेका थिए।

इप्पानको विधानअनुसार वरिष्ठ उपाध्यक्ष रहेका मोहनकुमार डाँगी स्वतः अध्यक्ष बनेका छन्। नवगठित कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा उत्तम भ्लोन लामा, महासचिवमा टीएन आचार्य तथा उपमहासचिवमा कविता पोखरेल निर्वाचित भएका छन्।

त्यसैगरी उपाध्यक्षहरूमा उत्तरकुमार श्रेष्ठ, सुसन कर्माचार्य, हिम पाठक, विक्रम विष्ट र नरेन्द्र बल्लभ पन्त निर्वाचित भएका छन्। सचिव पदमा कृष्ण घिमिरे, कुवेरमणि नेपाल, अभिज्ञा मल्ल, ईशा श्रेष्ठ, सुमन जोशी तथा विजयमोहन भट्टराई निर्वाचित भएका छन्। कोषाध्यक्षमा शंकर बस्याल निर्वाचित भएका छन्।

सपथग्रहण समारोहमा नवनिर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूले इप्पानलाई अझ सशक्त, प्रभावकारी र ऊर्जा क्षेत्रको साझा आवाजका रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

प्रमाणपत्र ग्रहणपछि प्रतिक्रिया दिँदै इप्पानका नवनिर्वाचित सचिव तथा विकास हाइड्रोपावर, बुढीगण्डकी हाइड्रोपावर र साङ्ग्रिला हाइड्रोपावरका प्रबन्ध निर्देशक कृष्ण घिमिरेले नेपालको आर्थिक समृद्धि, औद्योगिक विकास र ऊर्जा सुरक्षाको आधार जलविद्युत् क्षेत्र रहेको बताएका छन्।

उनले ऊर्जा क्षेत्रमा देखिएका नीतिगत जटिलता, प्रसारण पूर्वाधारका समस्या, लगानीकर्ताले भोगिरहेका चुनौती तथा परियोजना कार्यान्वयनका अवरोधहरू हटाउन नयाँ नेतृत्व दृढतापूर्वक लाग्ने बताए।

“नेपालको समृद्धिको आधार जलविद्युत् हो। हामीसँग पर्याप्त प्राकृतिक स्रोत छ, तर त्यसको अधिकतम उपयोग हुन सकेको छैन। अब ऊर्जा क्षेत्रलाई थप व्यवस्थित, लगानीमैत्री र प्रतिस्पर्धी बनाउँदै आमूल परिवर्तन ल्याउने दिशामा हामी काम गर्नेछौं,” घिमिरेले भने।

उनले सरकार, निजी क्षेत्र र ऊर्जा क्षेत्रका सरोकारवालाबीच बलियो सहकार्य आवश्यक रहेको उल्लेख गर्दै गैरआवासीय नेपाली (एनआरएन) समुदायको लगानी जलविद्युत् क्षेत्रमा आकर्षित गर्न विशेष पहल गरिने बताए।

“विश्वभर फैलिएका नेपालीहरूको पूँजी, अनुभव र सञ्जाललाई नेपालको ऊर्जा विकासमा जोड्न आवश्यक छ। गैरआवासीय नेपालीहरूको लगानी भित्र्याउन र ऊर्जा क्षेत्रलाई अन्तर्राष्ट्रिय लगानीका लागि अझ आकर्षक बनाउन इप्पानले प्रभावकारी भूमिका खेल्नेछ,” उनले बताए।

घिमिरेले निजी क्षेत्रको सक्रिय सहभागिताले नै नेपाललाई हजारौं मेगावाट विद्युत् उत्पादनको चरणमा पुर्‍याएको उल्लेख गर्दै आगामी दिनमा विद्युत् निर्यात विस्तार, प्रसारण पूर्वाधार सुदृढीकरण तथा ऊर्जा व्यापारलाई राष्ट्रिय प्राथमिकताका रूपमा अघि बढाउनुपर्ने धारणा व्यक्त गरे।

नयाँ नेतृत्व चयनसँगै ऊर्जा क्षेत्रका लगानीकर्ता तथा सरोकारवालाहरूले इप्पानले अब जलविद्युत् क्षेत्रका चुनौती समाधान, लगानी प्रवर्द्धन, विद्युत् व्यापार विस्तार, नीतिगत सुधार तथा निजी क्षेत्रको हकहित संरक्षणमा अझ प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा गरेका छन्।

विशेषगरी ऊर्जा क्षेत्रमा लामो अनुभव हासिल गरेका सचिव कृष्ण घिमिरेसहितको नयाँ नेतृत्वले निजी क्षेत्र र सरकारबीच समन्वय बढाउँदै नेपालको ऊर्जा क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास गरिएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु