
ललितपुर — स्थानीय सरकार ऐन लागू भएपछि स्थानीय स्वायत्त शासन, सुशासन र जनउत्तरदायी शासन व्यवस्थाका विषयमा निरन्तर कलम चलाउँदै आएका बरिस्ठ पत्रकार श्याम स्मृत ‘सुशासन पत्रकारिता सम्मान–२०८३’ बाट सम्मानित भएका छन्।
ललितपुर महानगरपालिका वडा नं. ५ द्वारा प्रदान गरिएको उक्त सम्मान उनलाई आज एक विशेष समारोहका बीच प्रदान गरिएको हो। यसअघि उनले वि.सं. २०७७ सालमा काठमाडौं महानगरपालिकाबाट ‘सुशासन पत्रकारिता पुरस्कार’ प्राप्त गरिसकेका थिए।
सम्मान ग्रहणपछि स्मृतले पत्रकारिताको मूल धर्म सत्य, निष्पक्षता र जनहितको पक्षमा उभिनु भएको उल्लेख गर्दै विगत एक दशकदेखि स्थानीय सरकारका गतिविधि, उपलब्धि, चुनौती र सुशासनका आयामहरू उजागर गर्दै आएको बताए। उनले प्राप्त सम्मानलाई व्यक्तिगत उपलब्धिभन्दा पनि जनपक्षीय पत्रकारिताप्रतिको विश्वास र जिम्मेवारीको रूपमा व्याख्या गरे।
कार्यक्रममा ललितपुर महानगरपालिका वडा नं. ५ का वडाध्यक्ष विकासमान श्रेष्ठ, ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जन तथा उपप्रमुख मञ्जरी शाक्य बज्राचार्य लगायतको उपस्थिति रहेको थियो।
सोही अवसरमा पत्रकारिता क्षेत्रमा योगदान पुर्याएको भन्दै पत्रकारहरू सुनिल महर्जन, नृपेन्द्रलाल श्रेष्ठ र सुविन कुमार श्रेष्ठ लाई पनि सम्मान गरिएको थियो।
सम्मानित पत्रकार स्मृतले आगामी दिनमा पनि सुशासन, पारदर्शिता र जनउत्तरदायित्वका पक्षमा अझ दृढतापूर्वक कलम चलाइरहने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनले यो सम्मान आफ्नो मात्र नभई सत्य र सुशासनको पक्षमा विश्वास गर्ने सम्पूर्ण पाठक, स्रोता, सहकर्मी तथा शुभेच्छुकहरूको भएको उल्लेख गर्दै आभार प्रकट गरेका छन्।


