तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

मैले छोरी किन जन्माइनँ?

सरिता ढकाल
प्रकाशित मिति : २०८३ असार ३ गते, बुधबार १२:०३

आज यो लेख लेखिरहँदा मेरो हात काँपिरहेको छ। शब्दहरू बारम्बार रोकिइरहेका छन्। मनभित्र वर्षौंदेखि थुप्रिएका प्रश्नहरू आँधी बनेर उठिरहेका छन्। म कुनै लेखकका रूपमा होइन, कुनै अभियन्ताका रूपमा होइन, कुनै अधिकारकर्मीका रूपमा पनि होइन—म आज एउटा छोरीका रूपमा बोलिरहेकी छु, एउटा महिलाका रूपमा बोलिरहेकी छु, र त्योभन्दा पनि बढी, एउटा आमाको मन बोकेर बोलिरहेकी छु।

म आफैँ एक छोरी हुँ। मैले पनि यही समाजमा आँखा खोलेँ। यही समाजमा हुर्किएँ। संघर्षका उकाली–ओराली पार गर्दै जीवनको यो मोडसम्म आइपुगेँ। मैले महिलाका सपनाहरू टुक्रिएको देखेकी छु। मैले असंख्य छोरीहरूको रुवाइ सुनेकी छु। मैले न्यायको ढोकामा वर्षौँदेखि धाइरहेका पीडितका आँखामा आशा मर्दै गएको देखेकी छु। मैले महिलाको अस्मितामाथि भएको प्रहारलाई समाचारका शीर्षकमा मात्र होइन, समाजको यथार्थमा देखेकी छु।

त्यसैले आज मेरो मनले बारम्बार एउटा कठोर, पीडादायी र हृदयविदारक प्रश्न सोध्छ—

“मैले छोरी किन जन्माइनँ?”

किन जन्माउने छोरी?

के उसलाई जन्म दिएर हरेक दिन डरको छायाँमा बाँच्न सिकाउन?
के उसलाई विद्यालय पठाउँदा मनभित्र हजारौँ आशंकाको पहाड बोकेर बस्न?
के उसलाई कलेज पठाएपछि साँझ घर नफर्कुञ्जेल मुटु समातेर बस्न?
के उसलाई सपना देख्न सिकाएर समाजका विकृत मानसिकताले ती सपनाहरू कुल्चिएको हेर्न?

एउटी आमा जब छोरा विद्यालय पठाउँछिन्, उनको मनमा भविष्यका सपना हुन्छन्। तर एउटी आमा जब छोरी विद्यालय पठाउँछिन्, उनको मनमा सपनाभन्दा धेरै डरहरू हुन्छन्। छोरी घरबाट निस्किएपछि ऊ सुरक्षित फर्किन्छे कि फर्किन्न? बाटोमा कसैले उसको आत्मसम्मानमाथि प्रहार गर्छ कि गर्दैन? सार्वजनिक सवारीमा ऊ सुरक्षित रहन्छे कि रहन्न? कार्यस्थलमा उसको प्रतिभाको मूल्याङ्कन हुन्छ कि उसको अस्तित्वमाथि नजर लगाइन्छ?

यो प्रश्न कुनै एक परिवारको होइन। यो त आज लाखौँ आमाहरूको साझा पीडा हो। संविधानले महिलालाई समानताको अधिकार दिएको छ। कानुनले सुरक्षाको प्रत्याभूति गरेको छ। नीति, नियम, ऐन र घोषणाहरूको लामो सूची छ। महिलाका अधिकारका पक्षमा अनगिन्ती भाषणहरू छन्। सेमिनारहरू छन्। कार्यक्रमहरू छन्। अन्तर्राष्ट्रिय दिवसहरू छन्। तर प्रश्न यो छ—यदि यी सबै पर्याप्त थिए भने आज पनि किन एउटी छोरी आफ्नो अस्तित्वको सुरक्षाका लागि संघर्ष गरिरहेकी छ?

किन आज पनि कुनै छोरी बलात्कारको सिकार हुन्छे?
किन आज पनि कुनै महिला घरेलु हिंसाको यातना सहेर बाँच्न बाध्य हुन्छे? किन आज पनि कुनै किशोरीको चित्कार सुनिँदैन?
किन आज पनि न्यायभन्दा शक्तिशाली पहुँच देखिन्छ?

अपराधीहरूलाई थाहा छ—समय बित्दै जान्छ, घटना सेलाउँदै जान्छ, समाचार फेरिन्छ, समाज बिर्सिन्छ। तर पीडितको घाउ कहिल्यै निको हुँदैन। एउटी छोरीमाथि भएको हिंसा केवल उसको शरीरमाथिको आक्रमण होइन; त्यो उसको आत्मसम्मानमाथिको प्रहार हो, उसको सपनामाथिको हत्या हो, उसको आत्मविश्वासमाथिको निर्मम आक्रमण हो।

सबैभन्दा पीडादायी कुरा त के छ भने आज एउटी छोरी घरभित्र पनि पूर्ण रूपमा सुरक्षित छैन। समाजमा सुरक्षित छैन। सार्वजनिक स्थलमा सुरक्षित छैन। कहिलेकाहीँ आफ्नै विश्वासका घेराभित्र पनि सुरक्षित छैन। जसको काँधमा सुरक्षा हुनुपर्ने हो, कहिलेकाहीँ खतरा त्यहीँबाट सुरु भएको देखिन्छ।

आखिर हामी कस्तो समाज निर्माण गर्दैछौँ?

हामी विकासका अग्ला भाषण गरिरहेका छौँ। समृद्धिका नारा लगाइरहेका छौँ। आधुनिकताको गर्व गरिरहेका छौँ। तर यदि एउटी महिला निर्भय भएर हिँड्न सक्दिन भने, यदि एउटी छोरीले आफ्नो भविष्यको सपना देख्न डराउनुपर्छ भने, यदि एउटी आमाले आफ्नी छोरीको सुरक्षाको चिन्तामा निद्रा हराउनुपर्छ भने, त्यो विकासको अर्थ के रहन्छ?

म कहिलेकाहीँ सोच्छु, प्रकृतिले सृष्टिलाई निरन्तरता दिन महिलालाई मातृत्वको अनुपम शक्ति दियो। महिलालाई जीवन जन्माउने क्षमता दियो। तर यही सृष्टिकर्तामाथि, यही जीवनदात्रीमाथि, यही आमामाथि, यही छोरीमाथि यति धेरै अमानवीयता किन?

किन एउटी महिलाले आफ्नो अस्तित्व प्रमाणित गर्न बारम्बार संघर्ष गर्नुपर्छ?
किन उसको सम्मान अझै बहसको विषय बन्नुपर्छ?
किन उसको सुरक्षाको माग अझै आन्दोलनको विषय बन्नुपर्छ?

आज मेरो आक्रोश कुनै व्यक्तिविरुद्ध होइन। मेरो आक्रोश त्यो मौनताविरुद्ध हो, जसले अपराधलाई बलियो बनाएको छ। मेरो आक्रोश त्यो मानसिकताविरुद्ध हो, जसले महिलालाई समान मानवका रूपमा हेर्न अझै सिकेको छैन। मेरो आक्रोश त्यो प्रणालीविरुद्ध हो, जहाँ पीडित रोइरहन्छे र न्याय ढिलो आइपुग्छ।

र यही पीडाको गर्भबाट जन्मिएको प्रश्न हो—

“मैले छोरी किन जन्माइनँ?”

तर यो प्रश्नको वास्तविक अर्थ छोरीप्रतिको अस्वीकार होइन। यो प्रश्न समाजप्रतिको चुनौती हो। यो प्रश्न राज्यप्रतिको खबरदारी हो। यो प्रश्न हाम्रो सामूहिक चेतनामाथिको प्रश्न हो।

किनकि समस्या छोरीमा कहिल्यै थिएन।
समस्या त त्यो समाजमा छ, जसले छोरीलाई जन्मिन त दिन्छ, तर निर्भय भएर बाँच्न सक्ने वातावरण दिन सक्दैन।
समस्या त्यो सोचमा छ, जसले महिलाको अस्तित्वलाई सम्मानभन्दा पहिले नियन्त्रण गर्न खोज्छ।
समस्या त्यो मौनतामा छ, जसले हरेक अपराधपछि केही दिन आँसु बगाउँछ र फेरि बिर्सिन्छ।

जबसम्म हरेक छोरी सुरक्षित भएर घर फर्किन सक्ने समाज निर्माण हुँदैन,
जबसम्म हरेक आमाले आफ्नी छोरीलाई ढुक्कसँग भविष्यतर्फ पठाउन सक्दिनन्,
जबसम्म न्याय पीडितको ढोका छिट्टै ढकढक्याउन सक्दैन,
तबसम्म यो प्रश्न केवल मेरो होइन, सम्पूर्ण समाजको आत्मामाथि लागेको प्रश्नचिह्न बनेर रहिरहनेछ ।

आज म यो लेख कुनै रहरले लेखिरहेकी छैन। न त यो केवल भावनामा बगेको अभिव्यक्ति हो। म यो लेख लेख्न बाध्य भएकी छु। आज दाङ जिल्लामा एक किशोरीमाथि भएको क्रूर, अमानवीय र हृदयविदारक घटनाले मेरो मनलाई यति धेरै झस्कायो कि मौन बस्न सकिनँ। एउटा महिला भएर, एउटा छोरी भएर, र आमाको संवेदनशील मन बोकेर बाँचिरहेको मान्छे भएर मभित्रको पीडा शब्द बनेर पोखिन बाध्य भयो।
“यदि छोरीलाई सुरक्षित जीवन दिन सक्दैनौँ भने, आखिर हामी कस्तो सभ्यता निर्माण गरिरहेका छौँ?”

लेखिका ढकाल महिला
सशक्तीकरणको अनुसन्धानकर्ता हनु ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु