
सर्लाही, असार ६ । नेपाल क्योकुशिन कान संघको आयोजनामा चौथो लालबन्दी राष्ट्रिय क्योकुशिन कान कराते प्रतियोगिता–२०८३ मधेश प्रदेशको सर्लाही जिल्लास्थित लालबन्दी नगरपालिका–७, टमाटर बजारमा भव्य, सभ्य तथा ऐतिहासिक रूपमा सम्पन्न भएको छ।
मधेश प्रदेश, सर्लाही क्योकुशिन कान करातेका अध्यक्ष गोपालबहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा मधेश प्रदेश सभाका माननीय देवी मेची लुङ्गेली प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। उहाँले पानसमा दीप प्रज्वलन गरी प्रतियोगिताको औपचारिक उद्घाटन गर्नुभएको थियो।
कार्यक्रममा लालबन्दी नगरपालिकाका नगर प्रमुख वासुदेव अधिकारी, नेपाल फुल कन्ट्याक्ट कराते महासंघका केन्द्रीय अध्यक्ष सूर्यबहादुर बुढाथोकी तथा क्योकुशिन कानका ब्राञ्च प्रमुखहरू भीम प्रसाद काफ्ले र लक्ष्मण कुँवर विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।
त्यसैगरी, धनबहादुर तामाङ, करुणा निखी त्रिपाठी (अध्यक्ष, लुम्बिनी प्रदेश), शशी चौधरी, सुशील कार्की, नवराज गिरी लगायत विभिन्न पदाधिकारी, जनप्रतिनिधि तथा खेल क्षेत्रका अग्रज व्यक्तित्वहरूको गरिमामय उपस्थिति रहेको थियो।
देशभरका विभिन्न जिल्ला, प्रदेश तथा विभागीय टोलीहरू, नेपाल आर्मी र नेपाल प्रहरीका खेलाडीहरूको उल्लेखनीय सहभागिता रहेको उक्त प्रतियोगितामा करिब १५० जना खेलाडी सहभागी भएका थिए। प्रतियोगिताका जुरी सदस्यका रूपमा शशी देवकोटा र धनबहादुर तामाङले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
प्रतियोगिताले खेलाडीहरूबीच प्रतिस्पर्धात्मक भावना, अनुशासन, आत्मविश्वास तथा खेलकुदप्रतिको समर्पणलाई थप सुदृढ बनाएको आयोजकले जनाएको छ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपाल फुल कन्ट्याक्ट कराते महासंघका केन्द्रीय अध्यक्ष सूर्यबहादुर बुढाथोकीले नेपालका उत्कृष्ट खेलाडीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने, अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सहभागिता सुनिश्चित गर्ने तथा नेपाली कराते खेलको विकास र विस्तारका लागि महासंघ निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
माननीय देवी मेची लुङ्गेलीद्वारा दीप प्रज्वलन गरी उद्घाटन गरिएको उक्त प्रतियोगिताले कराते खेलको विकास, विस्तार तथा खेलाडीहरूको मनोबल अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याएको आयोजकको विश्वास रहेको छ। अतिथि, खेलाडी, प्रशिक्षक, निर्णायक, अभिभावक तथा खेलप्रेमीहरूको उत्साहजनक सहभागिताका साथ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको थियो।


