
काठमाडौँ उपत्यका लगायत नेवार समुदायमा परम्परागत रूपमा मनाइँदै आएका धार्मिक तथा सांस्कृतिक पर्वहरू यस वर्ष पनि विधिपूर्वक मनाएका छन्। २०८३ साल असार ६ गते दुगु पूजा, सिठी नखः र देवाली पर्व एकै साथ विभिन्न टोल–टोलमा श्रद्धा, आस्था र सांस्कृतिक उत्साहका साथ मनाएको छ।
यसक्रममा प्राचिन लिच्छबीकालिन नगरी काठमाडौंको उत्तर पूर्वी भेगमा रहेको तत्कालिन आलामपुर हाल कागेश्वरी मनोहरा नगरपालिका वडा नंबर–२ आलापोटका नेवार समुदायले पनि यस पर्वलाई विशेष रुपमा मनाएका छन्।
स्थानीय युवा सांस्कृतिक तथा सामाजिक अभियन्ता विद्याराम श्रेष्ठका अनुसार, यी पर्वहरूलाई प्रकृति, समुदाय र परम्परागत जीवनशैलीसँग जोडिएको विशेष अवसरका रूपमा लिइन्छ। विशेषगरी सिठी नखःलाई वर्षा ऋतुको आगमनसँग सम्बन्धित सरसफाइ तथा सामुदायिक श्रम संस्कृतिको प्रतीक पर्वका रूपमा लिइन्छ। यस दिन समुदायका सदस्यहरू मिलेर इनार, धारा, पोखरी, मठ–मन्दिर तथा सार्वजनिक स्थानहरूको सरसफाइ गर्ने परम्परा रहिआएको छ।
त्यसैगरी, दुगु पूजा परिवार, कुलदेवता तथा समुदायको कल्याणका लागि गरिने धार्मिक अनुष्ठानका रूपमा मनाइन्छ। परिवारिक एकता, आस्था र परम्परागत मूल्यलाई मजबुत बनाउने उद्देश्यले यो पूजा विशेष रूपमा सम्पन्न गरिन्छ।
देउली (देवाली) पर्व भने नेवार समुदायभित्र कुल तथा देवताको पूजासँग सम्बन्धित महत्वपूर्ण धार्मिक परम्परा हो। यस अवसरमा परम्परागत विधि, भोज तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिन्छ।
नेवार समुदायको यी पर्वहरूले केवल धार्मिक महत्व मात्र नभई सामाजिक एकता, सहकार्य र सांस्कृतिक पहिचानलाई पनि मजबुत बनाउने विश्वास गरिएको छ।


