
काठमाडौं, असार ७ । काठमाडौंस्थित विशाल मिलन वैज्ञानिक योग केन्द्रमा १२औँ अन्तर्राष्ट्रिय योग दिवस विविध कार्यक्रमका साथ उत्साहपूर्वक मनाइएको छ। वि.सं. २०४३ सालमा स्थापना भएको विशाल मिलन केन्द्र परिसरमा सञ्चालित यस योग केन्द्रमा वर्षभरि हरेक बिहान ५ बजेदेखि ७ बजेसम्म ध्यान, योगासन तथा प्राणायामको नियमित साधना हुँदै आएको छ।
अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा केन्द्रका योग संरक्षक डा. दीपक आचार्यको सभापतित्वमा आयोजित कार्यक्रममा योग साधकहरूले विभिन्न योगासन प्रस्तुत गर्दै योगको महत्वलाई जीवन्त रूपमा उजागर गरेका थिए। कार्यक्रममा केन्द्रकै योग साधक शंकर सुवेदीले योगमय कविता वाचन गरी उपस्थित सबैलाई भावविभोर बनाएका थिए।
यसै अवसरमा योग साधिका शोभा केसी र श्रीजला अधिकारीको स्वरमा रहेको “धुकु धुकु शङ्ख बज्यो” बोलको योग गीतको समेत विमोचन गरिएको थियो। उक्त गीतको रचना डा. विज्ञान भिक्षुले गर्नुभएको हो भने संगीत बुद्ध शायमीले दिनुभएको हो।
कार्यक्रममा श्रीत्रिनेत्र आध्यात्मिक चिन्तन केन्द्रकी महासचिव निर्मला श्रेष्ठ, काठमाडौं महानगरपालिका वडा नं. ४ का पूर्व वडाध्यक्ष तथा समाजसेवी अच्युत प्रसाद सापकोटा, तथा विशाल मिलन वैज्ञानिक योग केन्द्रका महासचिव राजेश शर्माले योग दिवसको शुभकामना व्यक्त गर्दै योगले स्वस्थ, अनुशासित र सकारात्मक समाज निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने धारणा राख्नुभयो।
प्रमुख अतिथिका रूपमा बोल्दै काठमाडौं महानगरपालिका वडा नं. ४ की वडा सदस्य सरु अधिकारीले आगामी आर्थिक वर्षको महानगर बजेटमार्फत वैज्ञानिक योग केन्द्रलाई आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

संयुक्त राष्ट्रसंघको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ देखि प्रत्येक वर्ष जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रूपमा मनाउन थालिएको हो। नेपालमा भने वि.सं. २०३६ साल माघ १ गतेदेखि योग दिवस मनाउने परम्परा सुरु भएको मानिन्छ।
योगले स्वस्थ शरीर, शान्त मन र सकारात्मक जीवनशैलीको सन्देश फैलाउँदै आएको छ। अन्तर्राष्ट्रिय योग दिवसको यो उत्सवले समाजमा योगप्रतिको आकर्षण र सचेतना अझ बढाउने विश्वास गरिएको छ।


