
काठमाडौं । नेपालकै अग्रणी सौन्दर्य सेवा प्रदायक संस्था फेसियल हाउसले आफ्नो १२औँ शाखा काठमाडौंको सितापाइलास्थित अनुपम महलमा सञ्चालनमा ल्याउने भएको छ। कम्पनीका अनुसार नयाँ शाखाको औपचारिक उद्घाटन आगामी असार १३ गते सम्पन्न हुनेछ।
१८ वर्षअघि काठमाडौंको सुन्धारास्थित काठमाडौं मलबाट आफ्नो यात्रा सुरु गरेको फेसियल हाउसले निरन्तर विस्तारको अभियानलाई अघि बढाउँदै अब सितापाइलामा नयाँ शाखा स्थापना गर्न लागेको हो। यससँगै कम्पनीको शाखा संख्या १२ पुगेको छ।
हाल फेसियल हाउसले काठमाडौंका विभिन्न स्थानसँगै पोखरा, सुर्खेत, नेपालगञ्ज, ललितपुर, चितवन, धनगढी र इटहरीमा सेवा प्रदान गर्दै आएको छ। साथै काठमाडौं र चितवनमा फेसियल एकेडेमी सञ्चालन गरी सौन्दर्य तथा ब्युटी क्षेत्रमा दक्ष जनशक्ति उत्पादनमा समेत योगदान पुर्याउँदै आएको कम्पनीले जनाएको छ।

वरिष्ठ सौन्दर्यविद् तथा फेसियल हाउसकी संस्थापक सुष्मा महराको नेतृत्वमा स्थापित संस्थाले आधुनिक प्रविधिमा आधारित सौन्दर्य तथा स्किन केयर सेवा प्रदान गर्दै ग्राहकहरूको विश्वास जित्दै आएको छ। सौन्दर्य क्षेत्रमा दुई दशकभन्दा बढी अनुभव भएकी महराले नेपालमा आधुनिक ब्युटी प्रविधि र व्यावसायिक सौन्दर्य शिक्षाको विकासमा महत्वपूर्ण योगदान पुर्याएकी छन्।
कम्पनीले सितापाइलामा नयाँ शाखा सञ्चालनमा आएपछि काठमाडौंका सेवाग्राहीले गुणस्तरीय सौन्दर्य सेवा अझ सहज र नजिकबाट प्राप्त गर्ने तथा कम्पनीको पहुँच थप व्यापक ग्राहक वर्गसम्म विस्तार हुने विश्वास व्यक्त गरेको छ।


