
काठमाडौं । चर्को गर्मीका कारण विद्यार्थीहरूलाई सहज वातावरणमा अध्ययन गर्न सहयोग पुग्ने उद्देश्यले लायन्स क्लब अफ काठमाडौं महिमा, कम्युनिटी पिस, शुभतारा लगायत १८ वटा लायन्स क्लबहरूको संयुक्त आयोजनामा सञ्चालन भइरहेको साताव्यापी सामाजिक सेवा कार्यक्रमअन्तर्गत काठमाडौंको डिल्लीबजारस्थित स्प्याङ्गल हाई स्कुललाई पाँच थान पंखा हस्तान्तरण गरिएको छ।
पंखा वितरण कार्यक्रममा लायन्स क्लबका अग्रणी व्यक्तित्वहरू गणेश आचार्य, राजेश हिमालय, सुशीला श्रेष्ठ, भीमरत्न बज्राचार्य, आदित्यमान जोशी तथा राजेन्द्र मल्ललगायतको टोली विद्यालयमै पुगेर सामग्री हस्तान्तरण गरेको थियो।
विद्यालयका अध्यक्ष छत्रमणि कटुवालले लायन्स क्लबहरूको सामाजिक उत्तरदायित्वप्रति प्रशंसा व्यक्त गर्दै विद्यार्थीहरूको शैक्षिक वातावरण सुधारमा महत्वपूर्ण सहयोग पुगेको बताए। उनले सहयोगका लागि सम्बन्धित सबै क्लब तथा प्रतिनिधिहरूप्रति धन्यवाद व्यक्त गरे।
लायन्स क्लबहरूले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण तथा मानवीय सेवाका विविध क्षेत्रमा निरन्तर सामाजिक कार्य गर्दै आएका छन्। साताव्यापी कार्यक्रमअन्तर्गत आगामी दिनहरूमा पनि विभिन्न सामाजिक सेवामूलक गतिविधिहरू सञ्चालन गरिने आयोजकले जनाएको छ।


