
ललितपुर, असार २१ — लायन्स सप्ताहव्यापी कार्यक्रमअन्तर्गत शनिबार ललितपुरको धापाखेलस्थित पशुपति ग्रीन पार्कमा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ।
लायन्स क्लब अफ काठमाडौं महिमा, कम्युनिटी पिस, शुभतारा लगायतका क्लबहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा लायन गणेश आचार्यको अगुवाइमा फलफूल तथा तेजपत्ताका बिरुवा रोपिएका हुन्।
कार्यक्रममा वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा स्वच्छ समाज निर्माणमा सबैको साझा दायित्व रहेको उल्लेख गर्दै सहभागीहरूले वृक्षरोपणलाई सामाजिक उत्तरदायित्वसँग जोडेर निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।
वृक्षरोपण कार्यक्रममा अनु जोशी, गणेश आचार्य, उद्धव महरा, राजेश हिमालय, सुशीला श्रेष्ठ तथा पुरुषोत्तम तिमिल्सिनासहित विभिन्न लायन्स क्लबका पदाधिकारी तथा सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
आयोजकका अनुसार यस्ता वातावरणमैत्री कार्यक्रमले हरित नेपाल निर्माणमा महत्वपूर्ण योगदान पुर्याउनुका साथै समाजमा संरक्षण, सेवा र सामुदायिक उत्तरदायित्वको संस्कृतिलाई अझ सुदृढ बनाउने विश्वास लिइएको छ।
लायन्स सप्ताहअन्तर्गत सामाजिक सेवा, वातावरण संरक्षण तथा जनचेतनामूलक कार्यक्रमहरूलाई निरन्तरता दिइँदै आएको आयोजकले जनाएको छ।


