
–धर्मराज बज्राचार्य
काठमाडौं। नेपाल परम्परागत बौद्ध धर्म संघ, कान्तिपुर तथा बज्राचार्य अध्ययन मण्डलको संयुक्त आयोजनामा शनिबार काठमाडौंको म्हेपिस्थित म्हेपि द्योः परिसरमा पञ्चरक्षा पूजा, पञ्चरक्षा साधना अभिषेक सम्बन्धी विशेष प्रशिक्षण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रममा श्रद्धेय चक्रेश्वर गुरुवर प्रा.डा. नरेशमान बज्राचार्यको मूलाचार्यत्वमा पञ्चरक्षा साधना, अभिषेक, मन्त्र, यन्त्र, धारणी, माला मन्त्र तथा धूप बनाउने विधि बारेमा समेत विस्तृत जानकारी गराइएको थियो।
पञ्चरक्षा पूजा तथा मन्त्राभिषेक कार्यक्रममा मञ्जुश्री रत्न बज्राचार्य, भीमरत्न बज्राचार्य र दशरत्न बज्राचार्यले सह–आचार्यको भूमिका निर्वाह गर्नुभएको थियो। कार्यक्रममा सुरेश बज्राचार्य तथा उहाँको परिवार जजमानका रूपमा सहभागी भएका थिए।
काठमाडौं, ललितपुर, भक्तपुर, कीर्तिपुरलगायत विभिन्न स्थानबाट आएका करिब १५० जना गुरु बज्राचार्य, गुरुमाँजू तथा धर्मानुरागीहरूको उल्लेखनीय सहभागितामा कार्यक्रम सम्पन्न भएको आयोजकले जनाएको छ।
कार्यक्रमका क्रममा पञ्चरक्षाअन्तर्गत महाप्रतिसरा, महासाहस्रप्रमर्दिनी, महामायुरी, महामन्त्रानुसारिणी तथा महाशीतवतीका मन्त्र सम्बन्धित आचार्यहरूबाट प्रदान गरिएको थियो। साथै महास्थविर उत्तम बज्र बज्राचार्यबाट पञ्चरक्षा धारणी पाठसम्बन्धी ग्रन्थ पनि सहभागीहरूलाई वितरण गरिएको थियो।
आयोजकका अनुसार यस्ता धार्मिक तथा शैक्षिक कार्यक्रमले नेपालमा बज्रयान बौद्ध परम्परा, पूजा विधि तथा आध्यात्मिक ज्ञानको संरक्षण र पुस्तान्तरणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।


