
मेक्सिको सिटी |
नेपाल सरकारको अमेरिकास्थित नेपाली राजदूतावास (मेक्सिकोका लागि समवर्ती मान्यता प्राप्त) को आयोजनामा मेक्सिको सिटीमा “Connect Nepal Through Investment and Tourism” शीर्षकको अन्तर्राष्ट्रिय कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रममा करिब २०० जना कूटनीतिज्ञ, व्यवसायी, शिक्षाविद्, पर्यटन विज्ञ, सरकारी प्रतिनिधि तथा विशिष्ट अतिथिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमको उद्घाटन अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत तथा मेक्सिकोका लागि समवर्ती राजदूत महामहिम शरदराज आरणले गर्नुभएको थियो। उद्घाटन मन्तव्यका क्रममा उहाँले नेपालको पर्यटन, विदेशी प्रत्यक्ष लगानी (FDI), ऊर्जा, पूर्वाधार, कृषि तथा सूचना प्रविधि क्षेत्रमा रहेका सम्भावनाबारे प्रकाश पार्दै मेक्सिको तथा ल्याटिन अमेरिकी लगानीकर्तालाई नेपालसँग सहकार्य गर्न आह्वान गर्नुभयो।
समारोहको मुख्य आकर्षणका रूपमा कार्यवाहक राजदूत शरदराज आरण तथा एनआरएनए अस्ट्रेलियाका पूर्व अध्यक्ष गणेश केसीलाई नेपाल–मेक्सिको सम्बन्ध सुदृढीकरण, अन्तर्राष्ट्रिय सहकार्य, पर्यटन प्रवर्द्धन तथा सामाजिक सेवामा पुर्याएको उल्लेखनीय योगदानको कदरस्वरूप मानार्थ विद्यावारिधि (Honorary Doctorate Recognition) प्रदान गरिएको थियो।
गणेश केसीले लामो समयदेखि प्रवासी नेपाली समुदायलाई एकताबद्ध गर्दै नेपालको पर्यटन प्रवर्द्धन, अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार तथा विदेशी लगानी आकर्षित गर्ने अभियानमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएको छ।
नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न तथा विभिन्न मुलुकका व्यवसायी, लगानीकर्ता र सरोकारवालाबीच सहकार्यको वातावरण निर्माण गर्न उहाँले पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै उक्त सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा मेक्सिकोको मिचोआकान राज्यस्थित जिटाकुआरो (Zitácuaro) नगरपालिकाका मेयर जुआन एन्टोनियो इक्स्टलाहुआक ओरिहुएलाको विशेष उपस्थिति रहेको थियो। उहाँले नेपाल–मेक्सिकोबीचको मित्रता, पर्यटन प्रवर्द्धन, व्यापार विस्तार तथा आर्थिक सहकार्यलाई थप सुदृढ बनाउन यस्ता अन्तर्राष्ट्रिय कार्यक्रम प्रभावकारी हुने धारणा व्यक्त गर्नुभयो। उहाँको सहभागिताले स्थानीय तहदेखि अन्तर्राष्ट्रिय स्तरसम्म दुई देशबीच सहकार्य विस्तार गर्ने सम्भावनालाई थप बल पुगेको सहभागीहरूले बताएका छन्।
कार्यक्रममा नेपालको पर्यटन प्रवर्द्धनसम्बन्धी विशेष भिडियो प्रदर्शन, नेपाल भ्रमण गरेका मेक्सिकन एभरेष्ट आरोही तथा पर्यटकहरूको अनुभव आदान–प्रदान, अन्तरक्रियात्मक प्रश्नोत्तर तथा व्यवसायिक नेटवर्किङ सत्र पनि आयोजना गरिएको थियो।
उक्त कार्यक्रमको मुख्य संयोजन इन्द्र कट्टेलले गर्नुभएको थियो। उहाँको नेतृत्वमा सम्पन्न कार्यक्रमले नेपाललाई मेक्सिको तथा समग्र ल्याटिन अमेरिकी क्षेत्रसँग पर्यटन, व्यापार, लगानी तथा सांस्कृतिक सम्बन्ध विस्तार गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको सहभागीहरूको विश्वास रहेको छ।
नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, लगानीका सम्भावना तथा आर्थिक अवसरलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रभावकारी रूपमा प्रस्तुत गर्ने यस्ता कार्यक्रमले नेपाललाई विश्व पर्यटन तथा लगानीको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।


