
काठमाडौं। नेपाल खेलकुद महासङ्घ उपत्यका विशेष राजधानी प्रदेश कमिटी तथा काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला कमिटीको संयुक्त आयोजनामा बधाई, शुभकामना तथा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रमको अध्यक्षता उपत्यका विशेष राजधानी प्रदेश कमिटीका अध्यक्ष सूर्यबहादुर बुढाथोकीले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा नेपाल खेलकुद महासङ्घका केन्द्रीय अध्यक्ष दीपेन्द्र प्रसाद दाहाल सहभागी हुनुभएको थियो। विशेष अतिथि तथा वक्ताका रूपमा नेकपा (एमाले) केन्द्रीय सदस्य एवं नेपाल खेलकुद महासङ्घका निवर्तमान अध्यक्ष परशुराम बस्नेतको विशेष उपस्थिति रहेको थियो।
कार्यक्रममा महासङ्घका उपाध्यक्ष नन्दा बस्याल र थलु राजभण्डारी, सचिवद्वय तीर्थबहादुर खड्का र उज्ज्वल सुवेदी, कोषाध्यक्ष जेनेन्द्रवीर शाही, कार्यालय प्रमुख रामगोपाल, स्थायी कमिटी सदस्य कल्पना आचार्य र युवराज शाही, प्रदेश नं. २ का अध्यक्ष कमल चौधरी तथा काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला अध्यक्षहरू राजेश्वर स्थापित, हरिशरण तामाङ र अनन्त वैद्यलगायत केन्द्रीय, प्रदेश तथा जिल्ला तहका पदाधिकारी, सदस्य एवं खेलकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा नेपाल खेलकुद महासङ्घको राष्ट्रिय भेलाबाट निर्वाचित अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष तथा अन्य केन्द्रीय पदाधिकारीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै सम्मान गरिएको थियो। साथै, निवर्तमान अध्यक्ष परशुराम बस्नेतलाई खेलकुद क्षेत्रको विकास र संगठन सुदृढीकरणमा पुर्याउनुभएको उल्लेखनीय योगदानको कदर गर्दै कदरपत्रसहित सम्मान गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरूले नेपालको खेलकुद क्षेत्रको विकास, खेलाडीहरूको हकहित संरक्षण, संगठन सुदृढीकरण तथा खेलकुदलाई थप व्यावसायिक, प्रतिस्पर्धी र प्रभावकारी बनाउन सबै तहका नेतृत्व र खेलकर्मी एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए।
उत्साह, एकता र सौहार्दपूर्ण वातावरणमा सम्पन्न कार्यक्रममा सहभागी सम्पूर्ण अतिथि, पदाधिकारी, आयोजक तथा खेलकर्मीप्रति आयोजकले हार्दिक धन्यवाद व्यक्त गरेको छ।


