
चण्डीगढ,भारत । नेपाली जनसम्पर्क समिति भारतको पश्चिम–उत्तर भारत क्षेत्रअन्तर्गत चण्डीगढ शाखाको आयोजनामा समितिको ५०औँ स्थापना दिवस, आगामी १०औँ केन्द्रीय अधिवेशन, क्रियाशील सदस्यता, संगठन सुदृढीकरण, विधान संशोधन तथा प्रवासी नेपाली समुदायका समसामयिक विषयमा केन्द्रित वृहत् अन्तरक्रिया तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रममा विद्यार्थी कलाकारहरूलाई सम्मान समेत गरिएको थियो। कार्यक्रमको अध्यक्षता चण्डीगढ शाखाका अध्यक्ष सनि पोखरेलले गर्नुभएको थियो भने सञ्चालन श्री रानाले गर्नुभएको थियो। प्रमुख अतिथिका रूपमा नेपाली जनसम्पर्क समिति भारतका केन्द्रीय अध्यक्ष बालकृष्ण पाण्डे उपस्थित हुनुहुन्थ्यो।
कार्यक्रममा केन्द्रीय उपाध्यक्ष तारापति न्यौपाने, केन्द्रीय सहमहामन्त्री जीवलाल भट्टराई, प्रवक्ता उमेश काफ्ले, केन्द्रीय सदस्यहरू धर्मागत काफ्ले, भीमलाल भुसाल, खुमप्रसाद काफ्ले, गोविन्द भट्टराई, क्षेत्रीय उपाध्यक्ष ललित लगायत केन्द्रीय, क्षेत्रीय तथा शाखा समितिका पदाधिकारी, महिला, दलित, जनजाति, तरुण, कलाकार, पत्रकार तथा ठूलो संख्यामा जनसम्पर्ककर्मीहरूको सहभागिता रहेको थियो।
अन्तर्क्रिया कार्यक्रममा आगामी जुलाई २५–२६, २०२६ मा मुम्बईमा आयोजना हुने नेपाली जनसम्पर्क समिति भारतको ५०औँ स्थापना दिवस तथा १०औँ केन्द्रीय अधिवेशनलाई ऐतिहासिक, भव्य र सफल बनाउने विषयमा विस्तृत छलफल भएको थियो। साथै विधान संशोधन, क्रियाशील सदस्यता व्यवस्थापन, संगठन विस्तार, नीतिगत सुधार तथा प्रवासी नेपाली समुदायका समस्या र समाधानका उपायबारे सहभागीहरूले महत्वपूर्ण सुझाव प्रस्तुत गरेका थिए।
प्रमुख अतिथि बालकृष्ण पाण्डेले नेपाली जनसम्पर्क समिति भारतलाई अझ सशक्त, व्यवस्थित र प्रभावकारी संगठनका रूपमा विकास गर्न सबै क्षेत्र, प्रदेश तथा शाखाबीच एकता, अनुशासन, समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले व्यक्तिगत स्वार्थभन्दा संगठनको हितलाई प्राथमिकतामा राखी मेलमिलाप, आपसी विश्वास र सर्वसम्मतिको संस्कृतिलाई आत्मसात् गर्नुपर्नेमा जोड दिनुभयो।
अध्यक्ष पाण्डेले चण्डीगढ शाखाले संगठन विस्तार, सदस्यता अभियान तथा संगठनलाई चलायमान बनाउन खेलेको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्दै यही अभियानलाई भारतभर विस्तार गरिने जानकारी दिनुभयो। उहाँले देशव्यापी संगठन सुदृढीकरण अभियानअन्तर्गत विभिन्न क्षेत्रको भ्रमण, कार्यकर्ता भेटघाट, अन्तरक्रिया, प्रशिक्षण तथा संगठन विस्तार अभियानलाई अझ तीव्र बनाइने बताउनुभयो।
शाखा अध्यक्ष सनि पोखरेलले आफ्नो कार्यकालमा शिक्षा, स्वास्थ्य र सांस्कृतिक क्षेत्रमार्फत चण्डीगढ शाखालाई भारतभर परिचित गराउने गरी विभिन्न कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो।
उहाँले आगामी मुम्बई अधिवेशन नेपाली जनसम्पर्क समितिको इतिहासकै सबैभन्दा भव्य र ऐतिहासिक हुने विश्वास व्यक्त गर्दै नेपाली कांग्रेसका सभापति गगनकुमार थापा प्रमुख अतिथिका रूपमा सहभागी हुने जानकारी गराउनुभयो। साथै अधिवेशनलाई सर्वसम्मत, एकताबद्ध र सफल बनाउन सबै नेता तथा कार्यकर्तालाई एकजुट भएर लाग्न आग्रह गर्नुभयो।
कार्यक्रममा प्राप्त सुझावहरू आगामी केन्द्रीय अधिवेशनमा समावेश गर्ने निर्णय गरिएको आयोजकले जनाएको छ। आयोजकका अनुसार यस कार्यक्रमले संगठनात्मक एकता, कार्यकर्ता उत्साह तथा आगामी अधिवेशनको तयारीलाई थप ऊर्जा प्रदान गरेको छ।


