
काठमाडौं, असार २८ — नेपाल भलिबल लिग (एनभीएल) ले आफ्नो पहिलो संस्करणका लागि सहभागी सबै ६ वटा फ्रेन्चाइज टोलीका मुख्य प्रशिक्षकको छनोट तथा बाँडफाँड प्रक्रिया काठमाडौंस्थित होटल क्राउन इम्पेरियलमा सफलतापूर्वक सम्पन्न गरेको छ।
नेपाल भलिबल संघको समन्वय तथा नेपाल भलिबल लिगको नियमावलीअनुसार सम्पन्न भएको उक्त प्रक्रिया निष्पक्ष, पारदर्शी र सहमतिपूर्ण ढंगले सम्पन्न भएको आयोजकले जनाएको छ। कार्यक्रममा सहभागी सबै फ्रेन्चाइज टोलीका आधिकारिक प्रतिनिधिहरूले प्रशिक्षक बाँडफाँड प्रक्रियाप्रति पूर्ण सहमति जनाउँदै आधिकारिक रूपमा हस्ताक्षर गरेका थिए।
लिगका लागि नियुक्त मुख्य प्रशिक्षकहरू यसप्रकार छन्:
सगरमाथा स्म्यासर्स – उत्सव खड्का
मधेश वारियर्स – भारत यादव
काठमाडौं रेड्स – निपा बहादुर बि.के.
अन्नपूर्ण स्पाइकर किंग्स – रमेश के.सी.
कर्णाली शिवराज – चन्द्रबहादुर कुँवर
खप्तड फाल्कन्स – रुपेश कुमार बिष्ट
मुख्य प्रशिक्षक नियुक्तिसँगै नेपाल भलिबल लिगको पहिलो संस्करणको तयारीले थप गति लिएको छ। अब टोलीहरूले खेलाडी व्यवस्थापन, प्रशिक्षण र प्रतियोगिताको रणनीति निर्माणलाई तीव्रता दिने अपेक्षा गरिएको छ।


