
काठमाडौं । चलचित्र ‘गौँथली’को प्रचारलाई फरक शैलीमा प्रस्तुत गर्दै नायिका सिम्रन खड्का शनिबार काठमाडौं र ललितपुरका व्यस्त सडकमा डोकोमा घाँस बोकेर दर्शकमाझ पुगेकी छन्।
चलचित्रमा शीर्ष भूमिका निर्वाह गरेकी सिम्रनले आफ्नो पात्रकै पहिरन र स्वरूपमा काठमाडौंको वसन्तपुर तथा ललितपुरको पाटन क्षेत्रमा पुगेर दर्शकसँग प्रत्यक्ष भेटघाट गरिन्। उनलाई देख्नेबित्तिकै धेरैले सेल्फी खिचे भने चलचित्रबारे जिज्ञासा राख्दै शुभकामना पनि दिए।
चलचित्र **‘गौँथली’**को निर्माण टिमले प्रचारको नयाँ शैली अपनाउँदै सिम्रनमार्फत दुई हजारभन्दा बढी दर्शकलाई भेटेर चलचित्र हेर्न आग्रह गरेको जनाएको छ। उनले चलचित्रको सारांश समेटिएको ब्रोसर वितरण गर्दै साउन १ गतेदेखि प्रदर्शनमा आउने जानकारी दिइन्।
सिम्रनका अनुसार धेरै दर्शकले चलचित्रको ट्रेलर र अन्तर्वार्ता हेरेर चलचित्र हेर्ने योजना बनाइसकेको प्रतिक्रिया दिएका थिए भने केहीले पहिले नै हलमा खोज्दा प्रदर्शन सुरु नभएको बताएका थिए। प्रत्यक्ष रूपमा दर्शकसँग भेटेर निमन्त्रणा दिन पाउँदा आफूलाई उत्साह र थप आत्मविश्वास मिलेको उनको भनाइ छ।
निर्देशक कपिल रिजालको निर्देशनमा बनेको ‘गौँथली’ यतिबेला चर्चामा रहेको छ। साउन १ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको चलचित्रको ट्रेलर युट्युब ट्रेन्डिङको पहिलो स्थानमा पुगेको छ।


