
निकोसिया, साइप्रस |
प्रवासमा रहेर पनि आफ्नो भाषा, धर्म, संस्कार तथा संस्कृतिको संरक्षण र प्रवर्द्धनमा सक्रिय किरात याक्थुङ चुम्लुङ साइप्रस ले आफ्नो आठौँ साधारणसभाको दोस्रो अधिवेशन तथा किरात लिम्बू समुदायको महान् पर्व येले तङ्बे ५०८६ (सिसेक्पा तङ्नाम/साउन १ संक्रान्ति २०८३) एकैसाथ भव्य रूपमा मनाउने भएको छ।
संस्थाका अनुसार कार्यक्रम २०२६ जुलाई १९ (आइतबार) बिहान ११ बजेदेखि साइप्रसको लिमासोलस्थित मोलस पार्क मा आयोजना हुनेछ।
संस्थाका अध्यक्ष चुमन्ता तुम्बापो लिम्बू र सचिव रेश्मा लिम्बू द्वारा हस्ताक्षरित संयुक्त आह्वानपत्रमार्फत साइप्रसभर बसोबास गर्ने सम्पूर्ण याक्थुङ तथा गैर–याक्थुङ नेपाली समुदाय, विभिन्न संघ–संस्था, बुद्धिजीवी, समाजसेवी, सञ्चारकर्मी तथा पत्रकारहरूलाई कार्यक्रममा सहभागी भई सफल बनाउन हार्दिक अनुरोध गरिएको छ।
कार्यक्रममा संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुका साथै आगामी कार्ययोजनामाथि छलफल गरिनेछ। यससँगै किरात लिम्बू समुदायको मौलिक संस्कृति झल्काउने च्याब्रुङ नृत्य, पालाम, लोकगीत तथा सांस्कृतिक प्रस्तुति पनि आकर्षणका रूपमा रहने आयोजकले जनाएको छ।
यस्तै, सिसेक्पा तङ्नामको अवसरमा शुभकामना आदान–प्रदान, दिदीबहिनी तथा दाजुभाइबीच भेटघाट, आत्मीयता साटासाट तथा सामुदायिक एकताको सन्देश प्रवाह गर्ने विशेष कार्यक्रमसमेत समावेश गरिएको छ।
आयोजकका अनुसार प्रवासमा जन्मिएका तथा हुर्किरहेका नयाँ पुस्तालाई आफ्नो भाषा, संस्कृति र पहिचानसँग जोड्दै पुस्तान्तरण गर्ने उद्देश्यले यस्ता कार्यक्रमहरू नियमित रूपमा आयोजना हुँदै आएका छन्। साइप्रसजस्तो टाढाको मुलुकमा पनि मौलिक किरात लिम्बू संस्कृति, परम्परा र सामुदायिक एकतालाई जीवन्त राख्ने प्रयासस्वरूप यो कार्यक्रम महत्वपूर्ण हुने विश्वास लिइएको छ।
किरात याक्थुङ चुम्लुङ साइप्रसले सम्पूर्ण किरातप्रेमी तथा नेपाली समुदायलाई समयमै उपस्थित भई कार्यक्रमलाई भव्य र सभ्य रूपमा सफल बनाउन पुनः हार्दिक अनुरोध गरेको छ।


