
पहिरो न्यूनीकरण र वन्यजन्तुको आहार व्यवस्थापनमा जोड
काठमाडौं, साउन ३। तारकेश्वर नगरपालिका–५ स्थित पार्क तथा पहिरो प्रभावित क्षेत्रमा हिमालयन कम्युनिटी प्रोजेक्ट (Himalayan Community Project) को आयोजनामा शनिबार बृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमअन्तर्गत करिब १५० वटा विभिन्न प्रजातिका बिरुवा रोपिएका छन्।मनसुनका कारण हुन सक्ने पहिरोको जोखिम न्यूनीकरण गर्नुका साथै पार्क आसपासका वन्यजन्तु, विशेषगरी बाँदरका लागि प्राकृतिक बासस्थानमै खाद्य स्रोत उपलब्ध गराई मानव–वन्यजन्तु द्वन्द्व कम गर्ने उद्देश्यले वृक्षारोपण गरिएको आयोजकले जनाएको छ।
पार्क परिसरमा अम्बा, एभोकाडो, अमला र ओखरलगायतका फलफूलका बिरुवा रोपिएको छ भने पहिरोको उच्च जोखिम रहेका भिरालो क्षेत्रमा माटोलाई मजबुत बनाउने लाकुरी, टाँकी, पैयूँलगायतका प्रजातिका बिरुवा रोपिएका छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै हिमालयन कम्युनिटी प्रोजेक्टका अध्यक्ष रामप्रसाद सापकोटाले संस्थाले लामो समयदेखि अनाथ तथा छाडा जनावरलाई खाना खुवाउने, असहाय तथा विपन्न समुदायलाई सहयोग गर्ने, निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने र ‘हाइक फर हेल्थ’ कार्यक्रममार्फत स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने कार्य गर्दै आएको बताउनुभयो। उहाँले वातावरण संरक्षणलाई संस्थाको प्राथमिकतामध्ये एक बनाउँदै वृक्षारोपण अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
अध्यक्ष सापकोटाले कार्यक्रम सफल बनाउन सहयोग गर्ने तारकेश्वर नगरपालिका–५ र डिभिजन वन कार्यालय, काठमाडौंप्रति आभार व्यक्त गर्दै आगामी दिनमा स्थानीय तहसँग सहकार्य गरी थप वातावरणीय तथा सामाजिक कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो।

कार्यक्रमका प्रमुख अतिथि तथा तारकेश्वर नगरपालिका–५ का वडा अध्यक्ष शम्भु प्रसाद फुयालले पहिरो जोखिमयुक्त क्षेत्रमा वृक्षारोपण गरी भू–क्षय नियन्त्रणमा सहयोग पुर्याएको र पार्क क्षेत्रमा फलफूलका बिरुवा रोपेर वन्यजन्तुको प्राकृतिक आहार व्यवस्थापनमा योगदान दिएको भन्दै हिमालयन कम्युनिटी प्रोजेक्टको प्रशंसा गर्नुभयो। उहाँले यस्ता अभियानले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणसँगै वातावरण संरक्षणमा पनि महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।
डिभिजन वन कार्यालय, काठमाडौंको प्राविधिक सहयोग तथा समन्वयमा सम्पन्न उक्त कार्यक्रमले क्षेत्रको जैविक विविधता संरक्षण, हरियाली प्रवर्द्धन तथा वातावरणीय सन्तुलन कायम गर्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।


