
काठमाडौं — आषाढ शुक्ल पूर्णिमाका अवसरमा आज देशभर गुरु पूर्णिमा पर्व ज्ञान, शिक्षा र संस्कार प्रदान गर्ने गुरुजनप्रति श्रद्धा, सम्मान र कृतज्ञता व्यक्त गर्दै मनाइँदैछ।
यस दिन गायत्री मन्त्र, दीक्षा, वेद तथा जीवनोपयोगी शिक्षा प्रदान गर्ने गुरुहरूप्रति सम्मान व्यक्त गर्ने धार्मिक परम्परा रहेको छ। गुरु पूर्णिमालाई गुरुको योगदान स्मरण गर्ने र उहाँहरूबाट आशीर्वाद ग्रहण गर्ने विशेष अवसरका रूपमा लिइन्छ।
धर्मशास्त्र र तन्त्रशास्त्रअनुसार ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ प्रकाश हो। अर्थात् ज्ञानरूपी प्रकाशद्वारा अज्ञानरूपी अन्धकार हटाउने व्यक्तिलाई गुरु भनिन्छ।
गुरुले व्यक्तिको जीवनमा सही मार्गदर्शन, नैतिक संस्कार र चेतनाको विकास गराउने महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुन्छ। अज्ञानको अन्धकार हटाई जीवनमा ज्ञानको उज्यालो फैलाउने गुरुहरूलाई हिन्दू शास्त्रमा ब्रह्मा, विष्णु र महेश्वरकै स्वरूपका रूपमा सम्मान गरिएको छ।
गुरु पूर्णिमाको अवसरमा विद्यार्थी, शिष्य तथा श्रद्धालुहरूले आफ्ना गुरुजनलाई सम्मान गर्दै आशीर्वाद ग्रहण गर्ने परम्परा छ। यो पर्व धार्मिक आस्थासँगै ज्ञान, अनुशासन, संस्कार र गुरु–शिष्य सम्बन्धको महत्त्व स्मरण गर्ने अवसरका रूपमा पनि मनाइन्छ।
गुरु पूर्णिमाको सम्पूर्णमा हार्दिक शुभकामना।


