
काठमाडौं — महाकाव्यकार खेमनाथ दाहालका काव्य सिर्जनामा आधारित गीति एल्बम ‘जागृति’ काठमाडौंमा आयोजित विशेष समारोहबीच सार्वजनिक गरिएको छ।
मिलापको आयोजनामा भएको कार्यक्रममा दाहालद्वारा रचित ‘श्वेतपत्र’ महाकाव्य र ‘योद्धा’ काव्यका श्लोकमा आधारित पाँच गीत सार्वजनिक गरियो। एल्बममा राष्ट्रप्रेम, मातृत्व, प्रकृतिप्रेम, सांस्कृतिक गौरव र मानवीय संवेदनालाई संगीतमार्फत प्रस्तुत गरिएको छ।
एल्बममा ‘बुद्धको देश नेपाल’, ‘लालीगुराँसको साटो’, ‘बित्छ बिहान आमाको’, ‘फुल्छ बागमा फूल’ र ‘गाउँछौ अब लौ आमाका गीत’ समावेश छन्। तीन गीतमा सन्तोष श्रेष्ठको स्वर रहेको छ भने ज्ञानु राणा र रमेश पाठकले एक–एक गीतमा स्वर दिएका छन्। सम्पूर्ण गीतको संगीत पनि सन्तोष श्रेष्ठले तयार गरेका हुन्।
कार्यक्रममा वक्ताहरूले साहित्यका गहिरा भावलाई संगीतमार्फत आम श्रोतासम्म, विशेषगरी युवा पुस्तामाझ पुर्याउने प्रयासको प्रशंसा गर्दै यसले नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा योगदान पुग्ने विश्वास व्यक्त गरे।
संगीतकार सन्तोष श्रेष्ठले महाकाव्यका श्लोकलाई मूल भाव र छन्द कायम राख्दै गीतमा रूपान्तरण गर्नु चुनौतीपूर्ण भए पनि काव्यको आत्मा जोगाउने प्रयास गरिएको बताए। महाकाव्यकार खेमनाथ दाहालले आफ्ना काव्य सिर्जना संगीतमार्फत व्यापक श्रोतामाझ पुग्न थालेकोमा खुसी व्यक्त गरे।
सोही अवसरमा साहित्यकार डा. विलोल पोखरेललाई साहित्य तथा सांस्कृतिक क्षेत्रमा पुर्याएको योगदानको कदरस्वरूप ‘मिलाप कभर सम्मान’ प्रदान गरिएको थियो।


