
बैंकक। नेपालमूलकी युवती मेनुका गौतम (कियारा) पविचाया कैथालोएङचाइ लाई मिस युनिभर्स सङ्खला (Miss Universe Songkhla) को उपाधि जितेको अवसरमा Thai-Nepali Association Youth Department ले सम्मान गरेको छ।
बैंककमा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा कियाराको सफलताप्रति बधाई व्यक्त गर्दै आयोजकले उनको उपलब्धिलाई व्यक्तिगत सफलताभन्दा माथि उठेर सम्पूर्ण नेपालमूलका नेपाली तथा थाई–नेपाली समुदायको गौरवका रूपमा व्याख्या गरेको छ।
कार्यक्रममा बोल्दै युवा विभागका पदाधिकारीहरूले कियाराले अब सङ्खला प्रान्तको प्रतिनिधित्व गर्दै मिस युनिभर्स थाइल्यान्ड प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएकाले यो नेपाली समुदायका लागि ऐतिहासिक अवसर भएको बताए। उनीहरूले उनको आत्मविश्वास, मेहनत, व्यक्तित्व र नेतृत्व क्षमताले थाइल्यान्डमा रहेका नेपाली मूलका युवायुवतीलाई प्रेरणा दिएको उल्लेख गरे।

कार्यक्रममा सहभागीहरूले विदेशमा हुर्किए पनि कियाराले नेपाली भाषा पढ्न, लेख्न र बोल्न सक्नुका साथै नेपाली संस्कृति र पहिचानलाई निरन्तर आत्मसात् गरेको भन्दै प्रशंसा गरेका थिए। अन्तर्राष्ट्रिय मञ्चमा नेपाली समुदायको पहिचान स्थापित गर्न उनले खेलेको भूमिका प्रेरणादायी रहेको उनीहरूको भनाइ थियो।
संस्थाका अनुसार कियारा थाइल्यान्डको प्रतिष्ठित मिस युनिभर्स थाइल्यान्ड प्रतियोगितामा नेपालमूलकी प्रतिनिधिका रूपमा सहभागी हुने पहिलो युवती हुन्। उनको सफलताले भविष्यमा नेपाली मूलका अन्य युवायुवतीलाई पनि अन्तर्राष्ट्रिय अवसरतर्फ अघि बढ्न प्रेरणा मिल्ने विश्वास संस्थाले व्यक्त गरेको छ।
कार्यक्रमका क्रममा कियारालाई सम्मानपत्र, मायाको चिनो तथा शुभकामना प्रदान गरिएको थियो। सहभागीहरूले उनको उपलब्धिले थाई–नेपाली समुदायलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने अवसर सिर्जना गरेको उल्लेख गर्दै नेपाली कला, संस्कृति, भाषा र पहिचानको प्रवर्द्धनमा उनले पुर्याएको योगदानको प्रशंसा गरे।

यसैबीच, पीएनओका अध्यक्ष कुमार कार्की तथा एनआरएन अभियन्ता सञ्जय ढकाल ले पनि कियारालाई मिस युनिभर्स सङ्खलाको उपाधि जितेकोमा हार्दिक बधाई तथा आगामी मिस युनिभर्स थाइल्यान्ड प्रतियोगिताका लागि शुभकामना व्यक्त गरेका छन्। उनीहरूले कियाराको उपलब्धिले विश्वभर रहेका नेपालमूलका नेपालीको शिर उच्च बनाएको उल्लेख गर्दै उनको सफलताले नयाँ पुस्तालाई अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो क्षमता र पहिचान स्थापित गर्न प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्।
Thai-Nepali Association Youth Department ले आगामी मिस युनिभर्स थाइल्यान्ड प्रतियोगिताका लागि कियारालाई शुभकामना दिँदै उनको यात्रामा निरन्तर साथ र सहयोग रहने प्रतिबद्धता जनाएको छ। साथै, उनले राष्ट्रिय उपाधि जित्दै मिस युनिभर्सको अन्तर्राष्ट्रिय मञ्चसम्म पुगेर नेपालमूलका समुदायको गौरव अझ उँचो बनाउने विश्वास पनि व्यक्त गरेको छ।


