
काठमाडौं, गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकतापछि पहिलो पटक आयोजना हुन लागेको ११औँ एनआरएनए एसिया–प्रशान्त क्षेत्रीय सम्मेलन ‘आरोहण–२०२६’ को तयारी अन्तिम चरणमा पुगेको छ। सम्मेलन आगामी अगस्ट १५ र १६ मा चीनको ग्वाङ्झाउस्थित क्राउन प्लाजा ग्वाङ्झाउ सिटी सेन्टरमा आयोजना हुँदैछ।
सम्मेलनलाई सफल बनाउन एसिया–प्रशान्त क्षेत्रीय संयोजक दीपक कंडेल (आरसी) नेतृत्वको टोली तीव्र रूपमा तयारीमा जुटेको छ। एनआरएनएको एकतापछि आयोजना हुन लागेको पहिलो क्षेत्रीय सम्मेलन भएकाले यसलाई संगठनको नयाँ चरणको सुरुआतका रूपमा हेरिएको छ।
क्षेत्रीय संयोजक कंडेलले विभिन्न देशका राष्ट्रिय समन्वय परिषद् (एनसीसी), आयोजक टोली तथा अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) का पदाधिकारीसँग निरन्तर समन्वय गर्दै सम्मेलनलाई व्यवस्थित र परिणाममुखी बनाउन आवश्यक तयारीलाई प्राथमिकता दिएका छन्। सहभागी व्यवस्थापन, अतिथि सत्कार, कार्यक्रमको संरचना तथा अन्तर्राष्ट्रिय सहभागिता सुनिश्चित गर्ने कार्य अन्तिम चरणमा पुगेको जनाइएको छ।
कंडेलका अनुसार सम्मेलनमा नेपालका विभिन्न राजनीतिक दलका शीर्ष नेता तथा सांसद, एनआरएनएका अध्यक्ष, संस्थापक अध्यक्ष, पूर्वअध्यक्ष, आईसीसी पदाधिकारी, एसिया–प्रशान्त क्षेत्रका एनसीसी प्रतिनिधि, लगानीकर्ता, पर्यटन व्यवसायी, वैदेशिक रोजगार क्षेत्रका विज्ञ तथा सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहनेछ।
उनले ‘आरोहण–२०२६’ केवल औपचारिक सम्मेलन नभई एनआरएनएको एकताको सन्देशलाई व्यवहारमा रूपान्तरण गर्ने ऐतिहासिक अवसर भएको बताए। विश्वभर रहेका नेपालीलाई साझा उद्देश्यमा जोड्दै नेपालमा लगानी, व्यापार, पर्यटन, प्रविधि तथा ज्ञान हस्तान्तरणलाई नयाँ उचाइमा पुर्याउने विश्वास पनि उनले व्यक्त गरे।
एनआरएनएका अध्यक्ष डा. हेमराज शर्माले एकतापछि हुन लागेको पहिलो एसिया–प्रशान्त सम्मेलन भएकाले विश्वभरका सम्पूर्ण एनआरएनए अभियन्तालाई ग्वाङ्झाउमा सहभागी हुन आह्वान गरेका छन्। उनले हालै निर्वाचित पदाधिकारी, सल्लाहकार तथा संरक्षकहरूलाई सम्मेलनमा उपस्थित भई औपचारिक रूपमा सपथ ग्रहण गर्न पनि विशेष अनुरोध गरेका छन्।
दुईदिने सम्मेलनमा नेपालमा प्रत्यक्ष वैदेशिक लगानी, व्यापारिक साझेदारी (बीटुबी नेटवर्किङ), पर्यटन प्रवर्द्धन, सूचना प्रविधि, जलविद्युत्, कृषि, पूर्वाधार विकास, महिला उद्यमशीलता, युवा सहभागिता तथा वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र उत्पादनमुखी बनाउने विषयमा गहन छलफल हुनेछ। साथै, दोस्रो पुस्ताका गैरआवासीय नेपाली युवालाई भाषा, संस्कृति र नेपालसँगको भावनात्मक सम्बन्धमा जोड्ने विशेष कार्यक्रम पनि समावेश गरिएको छ।
सम्मेलनअन्तर्गत पाँचवटा विषयगत सत्र सञ्चालन हुनेछन्। समापन समारोहमा ‘ग्वाङ्झाउ घोषणा–२०२६’ जारी गर्दै नेपाल सरकारलाई लगानी, पर्यटन, वैदेशिक रोजगारी, प्रवासी नेपालीका अधिकार तथा नीतिगत सुधारसँग सम्बन्धित महत्वपूर्ण सुझाव प्रस्तुत गरिने आयोजकले जनाएको छ।
सम्मेलनको स्थानीय आयोजना एनआरएनए चीनले गरिरहेको छ। सम्मेलनलाई सफल बनाउन एसिया–प्रशान्त क्षेत्रका उपसंयोजक भविन्द्र बस्नेत, लालसिंह खड्कालगायतको टोली पनि सक्रिय रूपमा परिचालित रहेको छ। आयोजकका अनुसार सम्मेलनमा ६०० भन्दा बढी प्रतिनिधिको सहभागिता रहने अपेक्षा गरिएको छ।
आयोजकका अनुसार एनआरएनएको एकतापछि आयोजना हुन लागेको पहिलो क्षेत्रीय सम्मेलनले विश्वभरका नेपालीलाई साझा उद्देश्यमा जोड्ने, संगठनको भावी कार्यदिशा तय गर्ने तथा नेपालसँग प्रवासी नेपालीको सम्बन्धलाई अझ सुदृढ बनाउने महत्वपूर्ण अवसर प्रदान गर्ने विश्वास लिइएको छ।


