
काठमाडौं । ग्रील तथा स्टिल व्यवसायमा लामो समयदेखि सक्रिय व्यवसायी राजु लाल श्रेष्ठ नेपाल उद्योग वाणिज्य संघ, काठमाडौंको कृषि, लघु, घरेलु तथा साना उद्यमी प्रवर्द्धन समितिको सदस्यमा मनोनित हुनुभएको छ।
व्यवसायिक क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आफ्नो पहिचान बनाउन सफल श्रेष्ठलाई लघु, घरेलु तथा साना उद्यमीको हकहितसँग सम्बन्धित महत्वपूर्ण जिम्मेवारी दिइनुलाई उहाँको व्यवसायिक अनुभव र योगदानको सम्मानका रूपमा हेरिएको छ।
नेपालको अर्थतन्त्रमा ठूला उद्योगसँगै लघु, घरेलु तथा साना उद्योगको पनि महत्वपूर्ण योगदान रहँदै आएको छ। गाउँदेखि सहरसम्म सञ्चालनमा रहेका हजारौँ साना तथा घरेलु उद्योगले रोजगारी सिर्जना गर्नुका साथै धेरै परिवारको आयआर्जनको आधारसमेत निर्माण गरेका छन्।
तर पछिल्लो समय साना तथा घरेलु उद्यमीहरू पूँजीको अभाव, बजार व्यवस्थापनको समस्या, उत्पादन लागतमा वृद्धि, दक्ष जनशक्तिको कमी, प्रविधिको सीमित पहुँच तथा नीतिगत झन्झट लगायतका चुनौतीसँग जुधिरहेका छन्।
यस्तो अवस्थामा व्यवसायी स्वयंले भोगेका समस्या, अनुभव र सुझावलाई संस्थागत छलफल तथा नीतिनिर्माणको तहसम्म पुर्याउने भूमिका महत्वपूर्ण मानिन्छ। श्रेष्ठको मनोनयनले साना तथा घरेलु उद्यमीका वास्तविक समस्या पहिचान गरी सम्बन्धित निकायसम्म प्रभावकारी रूपमा पुर्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
ग्रील तथा स्टिल व्यवसायमा लामो अनुभव हासिल गरेका श्रेष्ठले समितिमार्फत लघु, घरेलु तथा साना उद्यमीको व्यवसायिक क्षमता अभिवृद्धि, बजार पहुँच विस्तार, प्रविधिको प्रयोग तथा नीतिगत सहजीकरणका विषयमा प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यवसायिक क्षेत्रले लिएको छ।
नेपाल उद्योग वाणिज्य संघ, काठमाडौंको उक्त समितिमा श्रेष्ठको सहभागिताले साना तथा घरेलु उद्यमीका आवाजलाई थप संस्थागत रूपमा उठान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।


