दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

गरिमा विकास बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा स्थानान्तरण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ भाद्र ४ गते, बिहीबार ५:०६

काठमाडौं — गरिमा विकास बैंक लिमिटेडले काठमाडौंको बालुवाटारमा नवनिर्मित आफ्नै भवनमा केन्द्रीय कार्यालय स्थानान्तरण गरेको छ। बैंकले बुधबार एक समारोहबीच नयाँ केन्द्रीय कार्यालयको औपचारिक उद्घाटन गरेको हो।

नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले एक समारोहका बीच बैंकको आफ्नै स्वामित्वमा रहेको नवनिर्मित भवनमा स्थापित केन्द्रीय कार्यालयको उद्घाटन गर्नुभएको थियो। कार्यालय स्थानान्तरणसँगै यसअघि काठमाडौंको लाजिम्पाटमा रहेको बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा सरेको छ।

गरिमा विकास बैंकले वि.सं. २०६४ साल कात्तिक १८ गते स्याङ्जाको वालिङबाट औपचारिक रूपमा वित्तीय कारोबार सुरु गरेको थियो। बैंकले २०६७ साल वैशाख १ गते कास्कीको महेन्द्रपुलमा केन्द्रीय कार्यालय स्थानान्तरण गरेको थियो। राष्ट्रियस्तरको विकास बैंकका रूपमा स्तरोन्नति भएपछि २०७३ साल चैत २७ गते केन्द्रीय कार्यालय पोखराबाट काठमाडौंको लाजिम्पाटमा स्थानान्तरण गरिएको थियो।

नवनिर्मित केन्द्रीय कार्यालय उद्घाटनको अवसरमा कार्यालय परिसरमा निर्मित मन्दिरमा शिव पाञ्चायन प्राणप्रतिष्ठासहित धार्मिक पूजाआजा समेत आयोजना गरिएको बैंकले जनाएको छ।
उद्घाटन समारोहमा नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्ट, नेपाल राष्ट्र बैंक लगायत विभिन्न नियामक निकायका पदाधिकारी, गरिमा विकास बैंकका सञ्चालक समितिका सदस्य, पूर्वपदाधिकारी, उच्च व्यवस्थापनका अधिकारी, विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा उच्चपदस्थ अधिकारी, शेयरधनी, कर्मचारी र ग्राहकहरूको उपस्थिति रहेको थियो।
समारोहलाई सम्बोधन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्यायले २०६४ सालमा स्याङ्जाको वालिङबाट सुरु भएको बैंकिङ यात्रा पोखरा हुँदै २०७३ सालमा काठमाडौं आइपुगेको स्मरण गर्नुभयो। आफ्नै स्वामित्वको भवनबाट केन्द्रीय कार्यालय सञ्चालनमा आएसँगै बैंकको यात्राले अर्को महत्वपूर्ण अध्याय सुरु गरेको उहाँले बताउनुभयो।
उहाँले बैंकको सफल व्यावसायिक यात्रामा लाखौं ग्राहक, हजारौं शेयरधनी, नियामक निकाय, व्यावसायिक साझेदार तथा कर्मचारीहरूको योगदान र संस्थागत सुशासन महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो।

कार्यक्रमको समापन सत्रमा बैंकका अध्यक्ष दिलीपप्रताप खाँणले ग्राहकलाई थप सहज, प्रभावकारी र गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै संस्थागत सुशासन, प्रविधि, नवप्रवर्तन र दिगो विकासलाई प्राथमिकतामा राखेर आगामी दिनमा अझ सशक्त रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
हाल गरिमा विकास बैंकले देशभर १२६ शाखा कार्यालय र ५१ वटा एटीएम मार्फत करिब १० लाख ग्राहकलाई सरल, सुरक्षित तथा गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु