
काठमाडौं — सञ्चार क्षेत्रमा सक्रिय रविन सुवेदी थाइल्यान्डमा आयोजित नेपाल–थाइल्यान्ड मैत्री महोत्सव तथा एसिया ग्लोबल एक्सिलेन्स अवार्ड–२०२६ मा ‘एक्सिलेन्स इन मिडिया इन्टरप्रेन्योरसिप एन्ड लिडरसिप’ विधामा सम्मानित भएका छन्।
सञ्चार क्षेत्रमा दूरदर्शी नेतृत्व, उद्यमशीलता तथा व्यावसायिक उत्कृष्टतामार्फत पुर्याएको योगदानको कदरस्वरूप सुवेदीलाई उक्त सम्मान प्रदान गरिएको हो। सम्मानपत्रमा सुवेदीको कार्यले सञ्चार क्षेत्रमा सकारात्मक प्रभाव सिर्जना गर्नुका साथै अन्यलाई प्रेरित गरेको र सञ्चार उद्योग तथा समुदायमा उत्कृष्टताको संस्कार विकास गर्न योगदान पुर्याएको उल्लेख गरिएको छ।
वर्ल्ड वाइड प्रोडक्सन मिडिया प्रालि र हिमालयन कम्युनिटी प्रोजेक्टको संयुक्त आयोजनामा सम्पन्न समारोहमा सञ्चार, सामाजिक सेवा, पर्यटन, व्यवसाय, शिक्षा, साहित्यलगायत विभिन्न क्षेत्रमा योगदान पुर्याएका नेपाली तथा अन्तर्राष्ट्रिय व्यक्तित्वलाई विभिन्न विधामा सम्मान गरिएको थियो।
कार्यक्रमका सभापति तथा वरिष्ठ पर्यटन व्यवसायी रामप्रसाद सापकोटाले सञ्चार क्षेत्र समाजको आवाज र परिवर्तनको महत्वपूर्ण माध्यम भएकाले यस क्षेत्रमा उत्कृष्ट काम गर्ने सञ्चार उद्यमी तथा नेतृत्वलाई प्रोत्साहन गर्नुपर्ने बताए। सञ्चारलाई पर्यटन, संस्कृति र सामाजिक सेवासँग जोडेर नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन सकिने उनको भनाइ थियो।
समारोहमा प्रमुख अतिथिका रूपमा प्रा. भारती ओख्राबो लिम्बुनी तथा विशेष अतिथिका रूपमा एनआरएनए–पीएनओका अध्यक्ष एवं थाई नेप्ली एसोसिएसनका पूर्व अध्यक्ष कुमार कार्की र थाई नेप्ली एसोसिएसनकी पूर्व अध्यक्ष वासना राईलगायतको उपस्थिति थियो।
वर्ल्ड वाइड प्रोडक्सन मिडिया प्रालिका अध्यक्ष कुमार चौलागाईंले सुवेदीको सम्मानले नेपाली सञ्चार क्षेत्रमा हुँदै आएको उत्कृष्ट कामलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन थप हौसला मिल्ने बताए। उनले सञ्चार उद्यमशीलता र नेतृत्वमा सक्रिय व्यक्तित्वलाई सम्मान गर्नु सकारात्मक र प्रेरणादायी कदम भएको उल्लेख गरे।
सुवेदीलाई प्राप्त ‘एसिया ग्लोबल एक्सिलेन्स अवार्ड–२०२६’ ले नेपाली सञ्चार उद्यमशीलता तथा नेतृत्वको अन्तर्राष्ट्रिय पहिचानलाई थप बलियो बनाएको आयोजकले जनाएको छ।
रविन सुवेदीलाई सम्मानका लागि हार्दिक बधाई तथा आगामी दिनमा थप सफलता र उल्लेखनीय उपलब्धिका लागि शुभकामना।


