
काठमाडौं — युवा व्यवसायी बबिन भट्टराई थाइल्यान्डमा आयोजित नेपाल–थाइल्यान्ड मैत्री महोत्सव तथा एसिया ग्लोबल एक्सिलेन्स अवार्ड–२०२६ समारोहमा ‘Outstanding Young Achiever in Management, Trading & Investment’ विधामा सम्मानित भएका छन्।
व्यवस्थापन, व्यापार तथा लगानीको क्षेत्रमा युवा नेतृत्व, उद्यमशीलता र व्यावसायिक दक्षतामार्फत पुर्याएको योगदानको कदरस्वरूप भट्टराईलाई उक्त सम्मान प्रदान गरिएको हो।
वर्ल्ड वाइड प्रोडक्सन मिडिया प्रालि. र हिमालयन कम्युनिटी प्रोजेक्टको संयुक्त आयोजनामा सम्पन्न समारोहमा व्यवसाय, लगानी, सामाजिक सेवा, पर्यटन, शिक्षा, सञ्चारलगायत विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका नेपाली तथा अन्तर्राष्ट्रिय व्यक्तित्वलाई विभिन्न विधामा सम्मान गरिएको थियो।
कार्यक्रमका सभापति तथा वरिष्ठ पर्यटन व्यवसायी रामप्रसाद सापकोटाले युवा पुस्ता व्यवस्थापन, व्यापार तथा लगानीका क्षेत्रमा सक्रिय हुँदै जानु नेपालको आर्थिक विकासका लागि सकारात्मक संकेत भएको बताए। “युवाको ऊर्जा, नयाँ सोच र लगानी क्षमतालाई उत्पादनशील क्षेत्रमा जोड्न सके मुलुकमा रोजगारी सिर्जना र आर्थिक गतिविधि बढाउन सकिन्छ,” उनले भने।
सापकोटाले नेपाली युवालाई स्वदेशमै लगानीका अवसर सिर्जना गर्दै अन्तर्राष्ट्रिय बजारसँग जोड्नुपर्नेमा जोड दिए। नेपाल र थाइल्यान्डबीच व्यापारसँगै पर्यटन क्षेत्रमा सहकार्य विस्तार गर्न सके दुवै देशका व्यवसायी तथा लगानीकर्ताका लागि नयाँ अवसर सिर्जना हुने उनको धारणा थियो।
उनले नेपालका पर्यटन सम्भावनालाई अन्तर्राष्ट्रिय बजारमा प्रभावकारी रूपमा प्रवर्द्धन गर्नुपर्ने बताउँदै लुम्बिनी, सगरमाथा, पोखरा, चितवन, पशुपतिनाथ तथा मुक्तिनाथजस्ता गन्तव्यलाई केन्द्रमा राखेर पर्यटन प्रवर्द्धन गर्न सके विदेशी पर्यटकको आगमन थप बढाउन सकिने उल्लेख गरे।
वर्ल्ड वाइड प्रोडक्सन मिडिया प्रालिका अध्यक्ष कुमार चौलागाईंले बबिन भट्टराईको सम्मान युवा व्यवस्थापन तथा लगानी क्षेत्रमा देखिएको सम्भावनाको अन्तर्राष्ट्रिय पहिचान भएको बताए। उनले नयाँ पुस्तालाई व्यावसायिक नेतृत्व र लगानीका क्षेत्रमा प्रोत्साहित गर्न यस्ता सम्मानले सकारात्मक ऊर्जा प्रदान गर्ने उल्लेख गरे।
समारोहमा प्रमुख अतिथिका रूपमा प्रा. भारती ओख्राबो लिम्बुनी तथा विशेष अतिथिका रूपमा एनआरएनए–पीएनओका अध्यक्ष एवं थाई नेप्ली एसोसिएसनका पूर्व अध्यक्ष कुमार कार्की र थाई नेप्ली एसोसिएसनकी पूर्व अध्यक्ष वासना राईलगायतको उपस्थिति थियो।
भट्टराईलाई प्राप्त सम्मानले व्यवस्थापन, व्यापार तथा लगानीको क्षेत्रमा नेपाली युवाको सक्रियता र क्षमता अन्तर्राष्ट्रियस्तरमा उजागर गर्न थप सहयोग पुगेको आयोजकले जनाएको छ।


