
काठमाडौं — नेपाली नोबल साहित्यकार बिक्रम भक्त जोशी थाइल्यान्डमा आइतबार आयोजित एसिया ग्लोबल एक्सिलेन्स अवार्ड–२०२६ समारोहमा ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ बाट सम्मानित भएका छन्।
साहित्य, इन्जिनियरिङ तथा बैंकिङ क्षेत्रमा चार दशक लामो योगदान पुर्याएको कदरस्वरूप जोशीलाई उक्त सम्मान प्रदान गरिएको हो।
साहित्य सिर्जनासँगै इन्जिनियरिङ र बैंकिङ क्षेत्रमा समेत उल्लेखनीय योगदान पुर्याउँदै आएका जोशीको बहुआयामिक व्यक्तित्व र कार्यलाई सम्मानले अन्तर्राष्ट्रिय मञ्चमा थप पहिचान दिलाएको आयोजकले जनाएको छ।
कार्यक्रमका सभापति तथा वरिष्ठ पर्यटन व्यवसायी रामप्रसाद सापकोटाले नेपाली प्रतिभा र सिर्जनालाई अन्तर्राष्ट्रियस्तरमा सम्मान गर्न पाउनु गौरवको विषय भएको बताए। उनले साहित्य, शिक्षा, व्यवसाय, सामाजिक सेवा तथा अन्य क्षेत्रमा योगदान पुर्याउने नेपाली व्यक्तित्वलाई अन्तर्राष्ट्रिय मञ्चसँग जोड्नुपर्नेमा जोड दिए।
सापकोटाले नेपाल र थाइल्यान्डबीचको सम्बन्धलाई साहित्य, संस्कृति तथा पर्यटनसँग जोड्दै दुई देशबीचको सहकार्य र सांस्कृतिक आदान–प्रदानलाई थप विस्तार गर्नुपर्ने बताए। थाइल्यान्डका नागरिकलाई नेपाल भ्रमणमा आकर्षित गर्न लुम्बिनी लगायतका धार्मिक तथा सांस्कृतिक गन्तव्यको प्रभावकारी प्रचार–प्रसार गर्नुपर्ने उनको भनाइ थियो।
समारोहमा प्रमुख अतिथिका रूपमा प्रा. भारती ओख्राबो लिम्बुनी तथा विशेष अतिथिका रूपमा एनआरएनए–पीएनओका अध्यक्ष एवं थाई नेप्ली एसोसिएसनका पूर्व अध्यक्ष कुमार कार्की र थाई नेप्ली एसोसिएसनकी पूर्व अध्यक्ष वासना राईलगायतको उपस्थिति थियो।
वर्ल्ड वाइड प्रोडक्सन मिडिया प्रालि र हिमालयन कम्युनिटी प्रोजेक्टको संयुक्त आयोजनामा सम्पन्न समारोहमा विभिन्न क्षेत्रमा योगदान पुर्याएका नेपाली तथा अन्तर्राष्ट्रिय व्यक्तित्वलाई विभिन्न विधामा सम्मान गरिएको थियो।
जोशीलाई प्राप्त ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ले नेपाली साहित्य तथा व्यावसायिक क्षेत्रमा उनले पुर्याएको दीर्घकालीन योगदानलाई अन्तर्राष्ट्रिय पहिचान प्रदान गरेको छ। उनलाई आगामी दिनका लागि थप सिर्जनात्मक सफलता तथा योगदानको शुभकामना व्यक्त गरिएको छ।


