
काठमाडौं — वरिष्ठ पत्रकार श्याम स्मृत थाइल्यान्डमा आयोजित नेपाल–थाइल्यान्ड मैत्री महोत्सव तथा एसिया ग्लोबल एक्सिलेन्स अवार्ड–२०२६ समारोहमा सम्मानित भएका छन्।
वर्ल्ड वाइड प्रोडक्सन मिडिया प्रालि. र हिमालयन कम्युनिटी प्रोजेक्टको संयुक्त आयोजनामा सम्पन्न समारोहमा पत्रकारिता तथा सञ्चार क्षेत्रमा लामो समयदेखि पुर्याउँदै आएको योगदान, व्यावसायिक सक्रियता तथा समाजमा सूचना र जनचेतना अभिवृद्धिमा खेलेको भूमिकाको कदरस्वरूप स्मृतलाई सम्मान गरिएको हो।
समारोहमा नेपाल तथा विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने नेपाली तथा अन्तर्राष्ट्रिय व्यक्तित्वलाई सञ्चार, साहित्य, शिक्षा, सामाजिक सेवा, पर्यटन, व्यवसायलगायत विभिन्न विधामा सम्मान गरिएको थियो।
कार्यक्रमका सभापति तथा वरिष्ठ पर्यटन व्यवसायी रामप्रसाद सापकोटाले पत्रकारिता समाजको आवाज र जनचेतना अभिवृद्धिको महत्वपूर्ण माध्यम भएको बताए। जिम्मेवार र व्यावसायिक पत्रकारिताले समाजमा सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै सञ्चारकर्मीको योगदानलाई अन्तर्राष्ट्रिय मञ्चमा सम्मान गर्नु प्रेरणादायी भएको उनको भनाइ थियो।
सापकोटाले नेपाल–थाइल्यान्डबीचको मैत्रीपूर्ण सम्बन्धलाई सञ्चार, पर्यटन तथा सांस्कृतिक आदान–प्रदानसँग जोडेर थप मजबुत बनाउनुपर्नेमा समेत जोड दिए।
वर्ल्ड वाइड प्रोडक्सन मिडिया प्रालिका अध्यक्ष कुमार चौलागाईंले वरिष्ठ पत्रकार श्याम स्मृतलाई प्रदान गरिएको सम्मान नेपाली पत्रकारिता क्षेत्रमा पुर्याएको योगदानको अन्तर्राष्ट्रिय कदर भएको बताए। उनले अनुभवी पत्रकारहरूको ज्ञान, अनुभव र सक्रियताले पत्रकारिता क्षेत्रलाई थप जिम्मेवार र प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे।
श्याम स्मृतलाई प्राप्त सम्मानले नेपाली पत्रकारिता क्षेत्रको योगदानलाई अन्तर्राष्ट्रियस्तरमा थप उजागर गरेको आयोजकले जनाएको छ। उनलाई सम्मानका लागि हार्दिक बधाई तथा आगामी पत्रकारिता यात्राका लागि शुभकामना।


