
बैंकक, थाइल्यान्ड । अध्यागमन कानून, भिसा तथा इमिग्रेसन कन्सल्टेन्सी, वर्क परमिटलगायत सम्बन्धित सेवामा १५ वर्षभन्दा लामो अनुभव हासिल गरेका Paige International Consultancy Co., Ltd. का निर्देशक प्रेमकुमार अधिकारी थाइल्यान्डमा आयोजित ‘एसिया ग्लोबल एक्सिलेन्स अवार्ड २०२६’ अन्तर्गत ‘सामाजिक सेवा सम्मान’ बाट सम्मानित भएका छन्।
अध्यागमन तथा परामर्श सेवाका क्षेत्रमा लामो समयदेखि सक्रिय अधिकारीले व्यावसायिक सेवासँगै सामाजिक उत्तरदायित्व र समुदायप्रतिको योगदानलाई समेत प्राथमिकता दिँदै आएको कदरस्वरूप उनलाई उक्त सम्मान प्रदान गरिएको हो।
बैंककमा आयोजित विशेष समारोहमा अधिकारीलाई शिक्षा, सामाजिक सेवा, पर्यटन, व्यवसाय, उद्यमशीलता तथा विभिन्न क्षेत्रमा योगदान पुर्याएका नेपाली तथा अन्तर्राष्ट्रिय व्यक्तित्वसँगै सम्मान गरिएको थियो।
World Wide Production Media Pvt. Ltd. र Himalayan Community Project को संयुक्त आयोजनामा सम्पन्न समारोहका सभापति तथा वरिष्ठ पर्यटन व्यवसायी राम प्रसाद सापकोटा ले सामाजिक क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वलाई अन्तर्राष्ट्रिय मञ्चमा सम्मान गर्नु गौरवको विषय भएको बताए।
सापकोटाले नेपाल र थाइल्यान्डबीचको सम्बन्धलाई पर्यटन, व्यवसाय, शिक्षा, संस्कृति तथा सामाजिक सेवासँग जोड्दै थप मजबुत बनाउनुपर्नेमा जोड दिए।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा थाइल्यान्डस्थित अवकाशप्राप्त प्राध्यापक तथा नेपाली भाषा, संस्कृति र मौलिक पहिचान संरक्षणमा योगदान पुर्याउँदै आएकी प्रा. भारती ओख्राबो लिम्बुनी तथा विशेष अतिथिका रूपमा एनआरएनए–पीएनओका अध्यक्ष एवं थाई नेप्ली एसोसिएसनका पूर्व अध्यक्ष कुमार कार्की र थाई नेप्ली एसोसिएसनकी पूर्व अध्यक्ष एवं महिला उद्यमी वासना राई लगायतको उपस्थिति थियो।
अधिकारीले Paige International Consultancy Co., Ltd. मार्फत अध्यागमन कानून, भिसा तथा इमिग्रेसन परामर्श, वर्क परमिट र सम्बन्धित सेवामा लामो समयदेखि काम गर्दै आएका छन्। १५ वर्षको अनुभवमा उनले सेवाग्राहीलाई अध्यागमन प्रक्रियाबारे आवश्यक परामर्श तथा सहजीकरण प्रदान गर्दै आएका छन्।
सम्मान ग्रहण गर्दै अधिकारीले प्राप्त सम्मानले सामाजिक सेवा तथा आफ्नो व्यावसायिक क्षेत्रमा अझ जिम्मेवार भएर काम गर्न थप ऊर्जा र प्रेरणा मिलेको बताए। उनले आगामी दिनमा पनि सेवाग्राही तथा समुदायको हितलाई प्राथमिकतामा राख्दै आफ्नो योगदानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे। अधिकारीको सम्मानले अध्यागमन तथा परामर्श क्षेत्रसँगै नेपाली समुदायको सामाजिक योगदानलाई समेत अन्तर्राष्ट्रिय मञ्चमा पहिचान दिलाएको आयोजकले जनाएको छ।


