दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

वास्तविकता नबुझी छिटो प्रतिक्रिया दिने बानिले सत्यता नै हरायो

प्रदीप भट्ट
प्रकाशित मिति : २०८३ भाद्र ६ गते, शनिबार १६:४१

आजको समयमा सूचना पाउन हामीलाई केही सेकेन्ड मात्र लाग्छ। मोबाइल खोल्यो, सामाजिक सञ्जालमा एउटा भिडियो आयो, कुनै नेताको भनाइ देखियो वा एउटा पोस्ट पढियो—हामी तुरुन्तै त्यसलाई सत्य ठान्छौँ। त्यसपछि सुरु हुन्छ बहस, समर्थन र विरोध। तर कहिलेकाहीँ प्रश्न गर्नुपर्ने हुन्छ—हामीले देखेको कुरा नै सम्पूर्ण सत्य हो त? हाम्रो छिटो प्रतिक्रिया दिने बानिले हामीलाई मात्र होइन समाजमा पनि नकारात्मक प्रभाव पारिरहेको हुन्छ।

सामाजिक सञ्जालले हाम्रो सूचना पाउने तरिका निकै सजिलो बनाएको छ। तर यही सहजताले गलत सूचना र आधा सत्यलाई पनि त्यत्तिकै छिटो फैलाएको छ। पुरानो भिडियो नयाँ घटनासँग जोडिन सक्छ, एउटा तस्बिरलाई फरक सन्दर्भमा प्रयोग गर्न सकिन्छ, अझ अहिले AI को प्रयोगबाट वास्तविकजस्तै देखिने सामग्रीसमेत बनाउन सकिन्छ। समस्या सूचना गलत हुनु मात्र होइन, हामीले त्यसलाई जाँच नगरी विश्वास गर्नु पनि हो।

नेपालको राजनीतिक बहसमा पनि यसको प्रभाव देखिन्छ। हामी नीति, विचार र परिणामभन्दा व्यक्तिको पक्ष र विपक्षमा बढी विभाजित भइरहेका छौँ। आफूले मन पराएको नेता वा दलले गरेको गल्तीलाई समेत बचाउ गर्ने र मन नपरेको पक्षको राम्रो कामलाई समेत अस्वीकार गर्ने प्रवृत्ति बढेको छ। यसरी हेर्दा हामी सत्य खोजिरहेका छैनौँ कि आफ्नो विचार सही साबित गर्ने प्रमाण खोजिरहेका छौँ भन्ने प्रश्न उठ्छ। बहस लोकतन्त्रका लागि आवश्यक छ। सरकारलाई प्रश्न गर्नुपर्छ, नेताको आलोचना गर्नुपर्छ र गलत कामको विरोध गर्नुपर्छ। तर बहसको उद्देश्य सत्य पत्ता लगाउनु हुनुपर्छ, आफ्नो पक्ष जिताउनु होइन।किनकि धेरैपटक सामाजिक सञ्जालको बहसमा एउटा घटना सुरु हुन्छ, त्यसमा अर्को घटना जोडिन्छ, आरोप–प्रत्यारोप थपिन्छ र अन्त्यमा मूल विषय नै हराउँछ। केही समयपछि नयाँ तथ्य बाहिर आउँदा थाहा हुन्छ—हामीले त अधुरो जानकारीका आधारमा घण्टौँ बहस गरिरहेका रहेछौँ। यो समस्या अहिले हाम्रो देशमा मात्र होइन विश्वमा नै फैलिरहेको पाइन्छ। केहि समय अगाडी इजरायल ( अमेरिका) र इरानको युद्ध चलिरहेको थियो। युद्धको केही समय पछि इजरायलका प्रधानमन्त्री नेतान्याहु मारिएको खबर यसरी फैलियो कि नेतान्याहुले आफ्नो सामाजिक सञ्जालबाट लाइभ आएर म जिवित छु भनेर प्रमाणित नै गर्नु पर्यो ।

त्यस्तै छिमेकी राष्ट्र भारतमा पनि यस्तै अपुष्ट खबर गर्दा विदेशमन्त्रालयले नै स्पष्टीकरण दिनु पर्ने अवस्था आइरहेको हुन्छ। हाम्रै देशको ताजा उदाहरणहरु जेन्जी आन्दोलनमा विभिन्न नेताहरु कुटिए भनेर सामाजिक सन्जालमा भिडियोहरु भाइरल भए पछि वास्तविकता अर्कै निस्कियो । त्यो समयमा खबर यसरी फैलाइयो भारतीय विभिन्न मिडियाहरुले सम्म ति कुटिएका तस्वीरहरु छापेर “नेपालके अर्थ, वित्त मन्त्रीको जेन्जी युवाने गराइ धुलाइ” भनेर समाचार सम्म छापिए । त्यसैले हामी बास्तविकता बुझने कोशिस नै गर्दैनौ प्रतिक्रिया दिन हतार गरिहाल्छौ।

कुनै सामग्री देख्दा आफैँलाई तीन प्रश्न गरौँ—
यो सूचना कहाँबाट आएको हो?
यसको प्रमाण के छ?
यसको अर्को पक्ष के हुन सक्छ?
कहिलेकाहीँ ‘मलाई अहिले पूरा जानकारी छैन’ भन्न सक्नु पनि जिम्मेवारी हो। कहिले कहिँ यस्ता अपुष्ट समाचारहरु को प्रचार वाजिले अन्तर्राष्ट्रिय सम्बन्धमा समेत असर पुर्याउन सक्छ ।
राजनीतिमा होस् वा सामाजिक विषयमा, हामीले आफ्नो पक्षभन्दा माथि सत्यलाई राख्न सक्नुपर्छ। आफूले समर्थन गरेको व्यक्तिको गल्तीलाई गल्ती भन्न सक्ने र आफूले विरोध गरेको व्यक्तिको राम्रो कामलाई राम्रो भन्न सक्ने संस्कार विकास गर्नुपर्छ।

अन्ततः समयले धेरै कुरा स्पष्ट पार्छ। आज हामीले अन्तिम सत्य ठानेको कुरा भोलि गलत पनि साबित हुन सक्छ। त्यसैले देखेको कुरामा विश्वास गरौँ, तर त्यसलाई अन्तिम सत्य नमानौँ। सुनेको कुरामा विचार गरौँ, तर प्रमाणबिना निष्कर्ष ननिकालौँ।
किनकि कहिलेकाहीँ धेरै बहसपछि मात्र थाहा हुन्छ— वास्तविकता त हामीले सुरुमा देखेको भन्दा बिल्कुलै फरक रहेछ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु