
काठमाडौं । काठमाडौँ मलका व्यवसायीहरूले यस वर्षको तीज पर्व सामाजिक उत्तरदायित्व र मानवीय सहयोगको सन्देशसहित मनाएका छन्। “दुःखमा साथ दिऔँ, खुसीमा एक–अर्कासँग रमाऔँ र आवश्यक परेको बेला सहयोगको हात फैलाऔँ” भन्ने सन्देशसहित आयोजित तीज भेलामा रसुवामा आएको बाढीपहिरोमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गरिएको हो।
भेलामा विपद्मा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै सहभागीहरूले एक मिनेट मौनधारण गरेका थिए। साथै, बाढीपहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि राहत रकमसमेत संकलन गरिएको आयोजकले जनाएको छ।
व्यवसायीहरूले तीजलाई नाचगान र मनोरञ्जनमा मात्र सीमित नगरी भेटघाट, आत्मीयता, सद्भाव, सांस्कृतिक एकता तथा सामाजिक उत्तरदायित्वको पर्वका रूपमा मनाएका हुन्। रसुवाको विपद्बाट प्रभावित परिवारप्रति ऐक्यबद्धता जनाउँदै यसपटक भड्किलो उत्सव नगरी सहयोगको भावना प्रस्तुत गरिएको आयोजकको भनाइ छ।
कार्यक्रममा आयोजक सुष्मा महराले भदौ १० गते रसुवामा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको उल्लेख गर्दै पीडित परिवारलाई सहयोग गर्नु सबैको सामाजिक दायित्व भएको बताइन्।
“हामी तीजका अवसरमा एकै ठाउँमा भेला भयौँ भन्दैमा नाचगान नै गर्नुपर्छ भन्ने छैन। व्यवसायी एकजुट भयौँ भने सुखमा आफ्नो खुसी र दुःखमा आफ्नो पीडा साटासाट गर्नुका साथै नेपाली नागरिकका दुःख–सुखमा पनि एकजुट भएर सहयोगी हात फैलाउन सक्छौँ,” महराले भनिन्।
बाढीका कारण कतिपयले आफन्त गुमाउनुका साथै घरबार र जीवनभरको मेहनतले जोडेको सम्पत्तिसमेत गुमाएको उल्लेख गर्दै उनले विपद्मा परेका नागरिकसँग हातेमालो गर्नु मानवीयता र सामाजिक उत्तरदायित्व भएको बताइन्।
तीज भेलालाई मनोरञ्जन र उत्सवमा मात्र सीमित नराखी विपद् प्रभावित परिवारका लागि सहयोग संकलन गर्ने अवसरका रूपमा समेत उपयोग गरिएको महराले बताइन्। उनले कार्यक्रममा सहभागी व्यवसायी तथा उपस्थित महानुभावहरूलाई आ–आफ्नो क्षमताअनुसार सहयोग गर्न आग्रह गरिन्।
कार्यक्रममा बाढीपहिरोमा परी ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरिएको थियो। दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै सहभागीहरूले एक मिनेट मौनधारण गरेका थिए। महराले दुःखमा परेका नेपाली नागरिकलाई सहयोग गर्नु नै मानवीयताको परिचय भएको बताउँदै भनिन्, “दुःखमा साथ दिऔँ, खुसीमा एक–अर्कासँग रमाऔँ र आवश्यक परेको बेला सहयोगको हात फैलाऔँ।”
काठमाडौँ मल व्यवसायीहरूको तीज भेलाले सांस्कृतिक उत्सवसँगै सामाजिक उत्तरदायित्व, मानवीयता र विपद् प्रभावितप्रतिको ऐक्यबद्धताको सन्देश दिएको छ।


