दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

गीति कविता : शान्तिको शंखनाद

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ भाद्र ३१ गते, बुधबार ६:५५

भोकै छन् कतिपय मानव, घरबारहीन छन् धरा,
रोगीका नयनमा आँसु, निभ्दैछन् आशाका झरा।
हिउँजस्तो कठोर जाडो, ओत खोज्दैछन् प्राणी,
युद्धाग्नि किन बल्छ अझै, जब पीडित छन् प्राणी॥
धन–धान्य क्षय हुँदैछ, अर्थचक्र थलिँदै गयो,
शासनका आधार डग्मग्, जनविश्वास गल्दै गयो।
सत्ताभन्दा ठूलो ठानौँ, मानवताको मान,
शस्त्रभन्दा शान्ति पूजौँ, यही हो धर्म महान्॥
रणले थाकिसक्यो धरती, घाउ बोकी मौन छिन्,
रक्तरञ्जित इतिहासका पीडा अझै जीवित छन्।
राष्ट्ररक्षा धर्म हो निश्चय, युद्ध अन्तिम बाटो होइन,
मानववध र राष्ट्रप्रेमको सम्बन्ध कहिल्यै होइन॥
शान्तिको सन्देश बोकी, कविताको फूल ल्याऊ,
वैरभावका तिक्त शब्दलाई, प्रेमवचनले हराऊ।
संवादका ढोका खोलौँ, हातमा हात मिलाऊ,
राष्ट्रभन्दा माथि उठेर, विश्वमानवता बचाऊ॥
मातृभूमि सबैलाई प्यारी, भावना अति पावन,
आफ्नो माटो जस्तै अरूको, माटो पनि हो जीवन।
देश जोगाउने अधिकार, प्रत्येक जनको हो,
अर्काको अस्तित्व मेट्नु, राष्ट्रप्रेम कदापि होइन॥
जनताको स्वर सुनियोस्, संविधानको मान रहोस्,
स्वाधीनताको पावन ज्योति, सधैँ प्रज्वलित रहोस्।
शासकभन्दा जनता ठूलो—लोकतन्त्रको सार,
जनहितमा नीति चलोस्, न्याय रहोस् अपार॥
पूर्व–पश्चिम हात मिलून्, उत्तर–दक्षिण बोलून्,
सीमाभन्दा माथि उठी, मानवताका फूल फुलून्।
ज्ञान–विज्ञानको शक्तिले, जीवनको दीप जलोस्,
बम होइन विद्यालयमा, बालभविष्य उज्यालो होस्॥
राष्ट्रहरूले राष्ट्रबाटै, सिकून् असल विचार,
विनाशमा खर्चिने धनले, बनोस् मानवको संसार।
युद्धाग्निको खरानीमा, फूल नखोजौँ फेरि,
शान्तिको शीतल वृष्टिले, धर्ती भिजोस् ढेरी॥
पूर्व नहोस् वैरको केन्द्र, पश्चिम नहोस् अभिमान,
सहअस्तित्वको मन्त्रले, जोडियोस् विश्वप्राण।
हिमशिखरदेखि सागर, एउटै स्वर गुन्जियोस्,
“मानव बचाऊ, शान्ति बचाऊ”—विश्वभरि सुनियोस्॥
कविताले पुल बनाओस्, हृदय–हृदय जोडोस्,
द्वेषका काला बादललाई, प्रेम–प्रभाले फोडोस्।
आज जनताको आवाज, भोलिको विधान बनोस्,
विश्वशान्तिको पावन सपना, जीवनको गान बनोस्॥
युद्ध रोकियोस् विश्वभरि, संवाद सदा चलोस्,
मानवताको पुण्यध्वजा, आकाशमाथि फहराओस्।
सत्यदीप कहिल्यै ननिभोस्, न्याय सदा विजयी होस्,
राष्ट्र–राष्ट्रमा मैत्री फूलोस्, जन–जनमा सुखमयी होस्॥
धरती माता एउटै हुन्, सन्तान अनेकौँ यहाँ,
प्रेम, दया र शान्तिको दीप, बलिरहोस् सधैँ जहाँ।
शस्त्र झुकोस्, शान्ति उठोस्, मानवताको जय होस्,
विश्वभरि सद्भाव छाओस्—शान्तिको सधैँ विजय होस्।

लेखक : गोबिन्द राज ओझा (राजन )

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु