तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

विश्व प्रकृति संरक्षण नेपालको १२औँ साधारण सभा सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ भाद्र ३१ गते, बुधबार ९:०८

काठमाडौं, भाद्र ३०। विश्व प्रकृति संरक्षण नेपाल (WWN Nepal) को १२औँ वार्षिक साधारण सभा मंगलबार काठमाडौंको टोखा नगरपालिका–४, धापासीस्थित रैथाने घरमा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष तिलक ढकालको अध्यक्षतामा सम्पन्न साधारण सभामा संस्थाका सल्लाहकार समितिका संयोजक धनप्रसाद राई प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।
संस्थाकी उपाध्यक्ष डा. शुसिला नेपालीको स्वागत मन्तव्यबाट सुरु भएको १२औँ वार्षिक साधारण सभामा आर्थिक वर्ष २०८२/०८३ मा संस्थाले सञ्चालन तथा सम्पन्न गरेका विभिन्न कार्यक्रम तथा गतिविधिको प्रगति प्रतिवेदन संस्थाका सचिव राईबहादुर राईले प्रस्तुत गर्नुभएको थियो। त्यसैगरी, सोही आर्थिक वर्षको आय–व्यय तथा आर्थिक विवरण संस्थाका कोषाध्यक्ष यशोदा पोखरेल र आर्थिक प्रशासन निर्देशक राजाराम पराजुलीले प्रस्तुत गर्नुभएको थियो।
प्रस्तुत प्रगति तथा आर्थिक प्रतिवेदनमाथि साधारण सभामा आवश्यक छलफल तथा समीक्षा गरिएको थियो। छलफलपछि दुवै प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरिएको थियो। त्यस्तै, आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तावित वार्षिक कार्यक्रम तथा बजेटमाथि छलफल गरी सभाबाट सर्वसम्मत रूपमा अनुमोदन गरिएको छ।
भोटेकोशी बाढीप्रति शोक प्रस्ताव, राहत तथा उद्धारका लागि समिति गठन
साधारण सभाले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको ठूलो धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ। बाढीका कारण ठूलो मात्रामा धनजनको क्षति हुनुका साथै मानवीय क्षति र धेरै व्यक्ति घाइते भएको दुःखद् घटनाप्रति सभाले गहिरो दुःख तथा शोक व्यक्त गरेको हो। शोक प्रस्तावमार्फत घटनामा ज्यान गुमाउनुहुने सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना तथा घाइते एवं प्रभावित सबैको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।
यसै अवसरमा बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार, खोज तथा अध्ययनका लागि तिलक पौडेलको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गर्ने निर्णय गरिएको छ। समितिले प्रभावित क्षेत्रको आवश्यक अध्ययन गरी अवधारणापत्र तयार गर्ने तथा आवश्यक सहयोगका कार्य अघि बढाउने जिम्मेवारी पाएको छ।
नयाँ आजीवन सदस्यलाई प्रमाणपत्र
साधारण सभाका अवसरमा संस्थाका नयाँ आजीवन सदस्यहरू डा. आलोक प्रसाईं, डा. नरविक्रम थापा, हिम सेढाईं, तिलक पौडेल, धनबहादुर ऐर र श्यामसुन्दर श्रेष्ठलाई प्रमुख अतिथि धनप्रसाद राईले आजीवन सदस्यताको प्रमाणपत्र प्रदान गर्नुभएको थियो।
सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि धनप्रसाद राईले प्रकृति संरक्षणबाटै मानव जीवनको सुन्दर र सुनिश्चित भविष्य निर्माण हुने बताउनुभयो। मानवसहित विभिन्न कारणले प्रकृति तथा वातावरणमा बढ्दै गएका चुनौतीको सामना गर्न सबैले आ–आफ्नो क्षेत्रबाट जिम्मेवार भएर योगदान गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।
प्रकृति र मानवबीचको सहअस्तित्व कायम राख्न संरक्षणका अभियानलाई समुदायस्तरसम्म विस्तार गर्दै सामूहिक प्रयास आवश्यक रहेको उहाँको भनाइ थियो।
१२औँ साधारण सभा समापन गर्दै संस्थाका अध्यक्ष तिलक ढकालले ‘प्रकृति रहे मात्र हामी रहन्छौँ’ भन्ने मूल भावनाका साथ विश्व प्रकृति संरक्षण नेपालले स्थापना कालदेखि नै प्रकृति र मानवबीचको सहअस्तित्व कायम राख्न निरन्तर प्रयास गर्दै आएको बताउनुभयो।
संस्थाको संरक्षण अभियानमा स्थापना कालदेखि सहयोग, सहकार्य र समर्थन गर्ने सम्पूर्ण व्यक्ति, सरकारी तथा गैरसरकारी संघ–संस्थाप्रति उहाँले धन्यवाद व्यक्त गर्नुभयो। आगामी दिनमा पनि सुन्दर, स्वच्छ प्रकृति र स्वस्थ मानव जीवन निर्माण गर्ने अभियानमा सबैलाई जोडिन उहाँले आग्रह गर्नुभयो।
अध्यक्ष ढकालले भोटेकोशी बाढीबाट प्रभावित नागरिक तथा परिवारका लागि संस्थाले लिन लागेको अग्रसरतामा सबैको हातेमालो र सहयोग आवश्यक रहेको भन्दै सहयोगका लागि समेत अपिल गर्नुभयो।
संरक्षणका कार्यक्रमलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता
साधारण सभाले संस्थाले विगतमा सञ्चालन गरेका कार्यक्रम तथा गतिविधिको समीक्षा गर्दै आगामी दिनमा प्रकृति तथा वातावरण संरक्षण, स्थानीय समुदायको सशक्तीकरण, जैविक विविधता संरक्षण, दिगो विकास, दिगो जीविकोपार्जन तथा हरित उद्यम प्रवर्द्धनका क्षेत्रमा संस्थाका गतिविधिलाई थप प्रभावकारी रूपमा अघि बढाउने विषयमा छलफल गरेको छ। विश्व प्रकृति संरक्षण नेपालले स्थापना भएदेखि नै प्रकृति तथा वातावरण संरक्षणसँगै स्थानीय समुदायको सशक्तीकरण, जैविक विविधता संरक्षण, दिगो जीविकोपार्जन तथा हरित उद्यम प्रवर्द्धनका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।
साधारण सभाले संस्था स्थापनादेखि हालसम्मका विभिन्न कार्यक्रम तथा अभियानमा सहयोग र सहकार्य गर्ने सरकारी तथा गैरसरकारी संघ–संस्था, साझेदार तथा शुभेच्छुकहरूलाई धन्यवाद व्यक्त गर्ने निर्णयसमेत गरेको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु