
काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका–१ स्थित प्रसिद्ध कागेश्वरी महादेव मन्दिर परिसरमा आज शनिबार कागे अष्टमीको अवसरमा भव्य मेला लागेको छ। बिहानैदेखि मन्दिरमा पूजा–आराधना तथा दर्शनका लागि भक्तजनको बाक्लो उपस्थिति रहेको छ।
कागेश्वरी महादेवप्रति आस्था राख्ने भक्तजन काठमाडौं उपत्यकाका विभिन्न स्थानसँगै आसपासका क्षेत्रबाट समेत बिहानैदेखि मन्दिर परिसरमा पुगेका छन्। भक्तजनको आगमनसँगै कागेश्वरी क्षेत्र आज धार्मिक तथा सांस्कृतिक गतिविधिले उल्लासमय बनेको छ।
कागे अष्टमीका दिन कागेश्वरी महादेवको दर्शन तथा पूजा गरेमा धार्मिक पुण्य प्राप्त हुने र मनोकांक्षा पूरा हुने जनविश्वास रहँदै आएको छ। यही धार्मिक आस्थाका कारण प्रत्येक वर्ष कागे अष्टमीमा कागेश्वरीमा विशेष मेला लाग्ने गर्दछ।
मेलाका क्रममा मन्दिर परिसरमा भक्तजनले पूजा, दर्शन तथा धार्मिक अनुष्ठान गरिरहेका छन्। स्थानीय समुदाय तथा विभिन्न संघसंस्थाको सहभागिताले मेलालाई थप व्यवस्थित र उत्साहपूर्ण बनाएको छ।
भक्तजनको चापलाई ध्यानमा राख्दै मन्दिर तथा मेला क्षेत्रको सुरक्षा, सरसफाइ, आवागमन व्यवस्थापन र स्वयंसेवा लगायतका काममा समेत सम्बन्धित पक्ष सक्रिय रहेको छ। स्वयंसेवक तथा सुरक्षाकर्मीको उपस्थितिले भक्तजनलाई सहज रूपमा दर्शन गर्ने वातावरण बनाउन सहयोग पुगेको छ।
कागेश्वरी मेला धार्मिक आस्थासँगै काठमाडौं उपत्यकाको मौलिक संस्कृति र परम्परासँग जोडिएको महत्वपूर्ण पर्वका रूपमा समेत लिइन्छ। मेलाले स्थानीय कला, संस्कृति, धार्मिक परम्परा र सामाजिक सद्भावलाई निरन्तरता दिन महत्वपूर्ण भूमिका खेल्दै आएको छ।
आज दिनभर कागेश्वरी क्षेत्रमा भक्तजनको चहलपहल रहने भएकाले मेला परिसर आसपासको क्षेत्रसमेत उत्सवमय बनेको जानकारी सामाजिक अभियन्ता श्यामकृष्ण श्रेष्ठ वताउनुहुन्छ। उहाँका अनुसार, कागेश्वरी महादेवको दर्शन गर्न आउने भक्तजनका कारण बिहानैदेखि मन्दिर परिसरमा धार्मिक वातावरणसँगै मेलाको रौनक देखिएको छ।


