
काठमाडौँ — देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव परेको छ। उत्तर अन्डमान सागरमा बनेको न्यून चापीय प्रणाली आगामी दिनमा थप बलियो बन्दै पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
सोमबार देशका अधिकांश हिमाली तथा पहाडी भूभागमा बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्।
कोशी, बागमती र गण्डकीका केही स्थानमा मध्यम वर्षा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन, चट्याङसहित वर्षा वा हिमपात हुनसक्ने पूर्वानुमान छ। तराईका विभिन्न भूभागमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।


