तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

घुन्सामा अस्ताएका संरक्षण नायकहरूको सम्झना

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ आश्विन ७ गते, बुधबार १०:०३

काठमाडौं, असोज ७ — कञ्चनजङ्घा संरक्षण क्षेत्रको व्यवस्थापन स्थानीय समुदायलाई हस्तान्तरण गर्ने ऐतिहासिक प्रक्रियामा सहभागी भएर फर्कने क्रममा २०६३ असोज ७ गते (२३ सेप्टेम्बर २००६) घुन्सामा भएको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका संरक्षणकर्मीहरूको आज स्मरण गरिएको छ।

कञ्चनजङ्घा संरक्षण क्षेत्रको व्यवस्थापन स्थानीय समुदायलाई हस्तान्तरण गरिएको ऐतिहासिक दिनको भोलिपल्ट घुन्साबाट काठमाडौं फर्कँदै गरेको श्री एयरलाइन्सको एमआई–१७२ हेलिकोप्टर ताप्लेजुङको घुन्सानजिकै दुर्घटनामा परेको थियो। दुर्घटनामा तत्कालीन वन तथा भू–संरक्षण मन्त्री गोपाल राईसहित संरक्षण क्षेत्रका अग्रणी व्यक्तित्व, सरकारी अधिकारी तथा अन्य यात्रुहरूको निधन भएको थियो।
दुर्घटनाको खबरले नेपालगन्जस्थित डब्लुडब्लुएफको क्षेत्रीय कार्यालयमा रहेका संरक्षणकर्मीहरूलाई स्तब्ध बनाएको थियो। दुर्घटनाको खबर प्राप्त भएपछि तत्काल खोज तथा उद्धारका लागि विभिन्न तहमा समन्वय सुरु गरिएको थियो।

त्यतिबेला डब्लुडब्लुएफ तथा संरक्षण क्षेत्रमा आबद्ध विभिन्न व्यक्तिहरूले आ–आफ्नो जिम्मेवारी सम्हाल्दै सूचना संकलन, सरकारी निकायसँग समन्वय तथा परिवारजनसँग सम्पर्क गर्ने काम अघि बढाएका थिए। अनिल मानन्धरले डब्लुडब्लएफको नेटवर्कमार्फत सूचना आदानप्रदानमा समन्वय गरेका थिए भने सन्तोष नेपाल र प्रशान्त सिंहलगायतले सरकारी तथा अन्य सरोकारवाला निकायसँग समन्वय गरेका थिए।

धनप्रसाद राई, कञ्चन थापा, राजेन्द्र गुरुङलगायत संरक्षणकर्मीहरू काठमाडौं उपत्यकामा रहेका मृतकका परिवारजनको घरमा पुगेर घटनाबारे जानकारी, सान्त्वना र सहयोगको प्रयासमा जुटेका थिए।
घटनास्थलमा भने खराब मौसम र कठिन भौगोलिक अवस्थाबीच स्थानीय समुदाय, सुरक्षाकर्मी तथा सम्बन्धित निकायहरू खोज तथा उद्धारमा खटिएका थिए। लामो प्रयासपछि घुन्सानजिकै करिब ३ हजार ९९० मिटरको उचाइमा हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो।
दुर्घटनामा तत्कालीन वन तथा भू–संरक्षण मन्त्री गोपाल राई र उनकी श्रीमती, संरक्षणविद् डा. हर्क गुरुङ, डा. चन्द्रप्रसाद गुरुङ, डा. तीर्थमान मास्के, नारायण पौडेल, शरद राई, डा. विज्ञान आचार्य, मिग्मा शेर्पा, दावा छिरिङ र यशी लामालगायत संरक्षण क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तित्वहरूको निधन भएको थियो।
हेलिकोप्टरमा सवारमध्ये सात जना डब्लुडब्लुएफसँग प्रत्यक्ष रूपमा सम्बन्धित थिए। उनीहरू अघिल्लो दिन कञ्चनजङ्घा संरक्षण क्षेत्रको व्यवस्थापन स्थानीय समुदायलाई हस्तान्तरण गर्ने ऐतिहासिक कार्यक्रममा सहभागी भएका थिए।

घुन्सा दुर्घटनालाई नेपालको संरक्षण यात्रामा भएको ठूलो क्षतिको रूपमा स्मरण गरिन्छ। दुर्घटनामा ज्यान गुमाएका संरक्षणकर्मीहरूले समुदायमा आधारित संरक्षण, जैविक विविधता संरक्षण तथा प्राकृतिक स्रोतको दिगो व्यवस्थापनका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएका थिए।
नेपाल सरकारले असोज ७ गतेलाई संरक्षणकर्मीहरूको योगदान र समर्पणको स्मरण गर्दै राष्ट्रिय संरक्षण दिवसका रूपमा मनाउँदै आएको छ। डब्लुडब्लुएफ नेपालले पनि घुन्सा दुर्घटनामा दिवंगत संरक्षणकर्मीहरूलाई ‘Conservation Heroes’ का रूपमा स्मरण गर्दै आएको छ।

दुर्घटनामा दिवंगत संरक्षणकर्मीहरूको सरलता, नेतृत्व, साहस, संरक्षणप्रतिको प्रतिबद्धता र समुदायसँगको सहकार्य आज पनि संरक्षण क्षेत्रमा प्रेरणाका रूपमा स्मरण गरिन्छ।
कञ्चनजङ्घा संरक्षण क्षेत्रको व्यवस्थापन स्थानीय समुदायलाई हस्तान्तरण भएको ऐतिहासिक घटनासँग जोडिएको घुन्सा दुर्घटनाले संरक्षण क्षेत्रमा अपूरणीय क्षति पुर्‍याए पनि दिवंगत संरक्षणकर्मीहरूले अघि सारेको समुदायमा आधारित संरक्षणको अवधारणा नेपालको संरक्षण यात्रामा महत्वपूर्ण विरासतका रूपमा स्थापित भएको छ।
दिवंगत सबै संरक्षणकर्मीप्रति भावपूर्ण श्रद्धासुमन।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु