
काठमाडौं, ११ असोज । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर प्रधानमन्त्री बालेन शाह शनिबार बिहान स्वदेश फर्किएका छन्। अमेरिका भ्रमण पूरा गरी उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।
प्रधानमन्त्री शाह गत मंगलबार साँझ महासभामा सहभागी हुन अमेरिका प्रस्थान गरेका थिए। भ्रमणका क्रममा उनले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै नेपालका प्राथमिकता, अन्तर्राष्ट्रिय सहकार्य तथा जलवायु परिवर्तनबाट उत्पन्न चुनौतीबारे नेपालको धारणा प्रस्तुत गरेका थिए।
सम्बोधनका क्रममा शाहले भोटेकोशी–त्रिशूली बाढीलाई जलवायु परिवर्तनका कारण सिर्जित संकटको उदाहरणका रूपमा प्रस्तुत गर्दै हिमाली क्षेत्रमा बढिरहेको जोखिमप्रति अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएका थिए।
जलवायु परिवर्तनमा नेपालको योगदान न्यून भए पनि त्यसको असर ठूलो रूपमा भोग्नुपरेको उल्लेख गर्दै उनले जलवायु न्यायलाई आर्थिक सहयोगमा मात्र सीमित गर्न नहुने धारणा राखेका थिए।
उनले हिमाली समुदाय, साना टापु राष्ट्र, भूपरिवेष्टित तथा अति कम विकसित देशहरू र भावी पुस्ताको आवाजलाई अन्तर्राष्ट्रिय निर्णय प्रक्रियामा समान महत्त्व दिनुपर्नेमा जोड दिएका छन्।


