दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

कविता : जल्लादको ‘प्रेम’

— लिला अनमोल
प्रकाशित मिति : २०८३ आश्विन ११ गते, आईतवार ७:५१

तिम्रा हातहरूमा अझै ताजा रगतको गन्ध बाँकी छ,
र तिमी भन्छौ— “यो मेरो समर्पण हो।”

फलामे सिक्रीले घाँटी बाँधेर स्वतन्त्रताको हत्या गर्नुलाई
यदि तिमी प्रेम भन्छौ भने,
त्यो प्रेम होइन,
एउटा बलात् अधिकारको सनक हो।

तिमी त त्यो जल्लाद हौ,
जसले चराको प्वाँख उखेलेर
उसलाई आफ्नो पिँजडाको ‘सुरक्षा’ दिन्छौ।
फूलको डाँठ निर्मोही भएर भाँचिदिन्छौ,
अनि भन्छौ— “मैले तिमीलाई सिँगारेँ।”

कस्तो आक्रामक अपव्याख्या हो यो?
जहाँ स्पर्शमा माया होइन, बन्धनको आभास हुन्छ,
जहाँ ओठका शब्दहरूमा स्नेह होइन,
आज्ञापालक हुनुपर्ने धम्की हुन्छ।

तिमी त आफ्नो अहम्‌को तराजुमा
अर्काको स्वाभिमान जोख्ने गर्छौ,
अनि त्यसैलाई ‘गहिरो समर्पण’ को नाम दिन्छौ।

सुनाऊ, तिमी आफ्ना कानुनी प्रेम–शास्त्रहरू,
तर याद राख—
काँडाले रेटेर पठाएको उपहारलाई
कुनै कोपिलाले प्रेम मान्दैन।

पासो थापेर पासोमै अटाउनु
संरक्षण होइन, शिकार हो!

यो प्रेम होइन, महोदय,
यो त तिम्रो डरको बर्बर रूप हो।

नदीलाई पोखरीमा थुनेर
त्यसको जललाई आफ्नो सम्पत्ति ठान्ने जल्लाद!
अब यो भ्रमको पर्दा च्यातिसक्यो।

तिमीले दिएको सिक्रीलाई
आभूषण सम्झिने दिनहरू गए।
तिम्रो हिंस्रक अङ्कमाललाई
वसन्त मान्न अब कसैको चेतना मरेको छैन।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु