दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

स्थानीय तथा रैथाने उत्पादनको प्रवर्द्धन गर्न ‘दशैं बजार २०८३’ आयोजना हुँदै

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ आश्विन १६ गते, शुक्रबार ७:०७

काठमाडौं । नेपालीहरूको महान् पर्व दशैं, तिहार तथा छठलाई लक्षित गर्दै स्थानीय तथा रैथाने कृषि उत्पादन, खाद्यवस्तु, परम्परागत परिकार तथा मौलिक उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले ‘दशैं बजार २०८३’ आयोजना हुने भएको छ।

रैथाने एग्री प्रोडक्ट्स नेपाललगायत उद्यमी तथा किसानहरूको सहकार्यमा आगामी असोज २३ देखि २५ गतेसम्म काठमाडौंको धापासी हाइटस्थित रैथाने घरमा तीनदिने बजार सञ्चालन हुने भएको हो।

नेपाली चाडपर्व स्थानीय कृषि उत्पादन, मौलिक खानपान, परम्परा र संस्कृतिसँग गहिरो रूपमा जोडिएका छन्। चाडपर्वका समयमा खाद्यान्न तथा स्थानीय उत्पादनको माग बढ्ने भए पनि ग्रामीण तथा साना किसानले उत्पादन गरेका वस्तुलाई काठमाडौंको ठूलो उपभोक्ता बजारसम्म प्रत्यक्ष रूपमा पुर्‍याउने अवसर सीमित रहेको आयोजकको भनाइ छ।

यही अवस्थालाई ध्यानमा राख्दै किसान, स्थानीय उत्पादक र उपभोक्ताबीच प्रत्यक्ष बजार सम्बन्ध स्थापित गर्ने उद्देश्यले दशैं बजार आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।

बजारमा करिब ५० जना किसान, स्थानीय उत्पादक तथा साना उद्यमीलाई स्टलमार्फत प्रत्यक्ष बजारको अवसर उपलब्ध गराइनेछ। तीन दिनको अवधिमा करिब २ हजार उपभोक्ता तथा सरोकारवालासम्म पहुँच पुर्‍याउने लक्ष्य राखिएको छ।

दशैं बजारमा तोरीको तेल, गाईको घ्यू, स्थानीय तथा रैथाने चामल, दाल तथा अन्नबाली, ताजा तरकारी, मौसमी फलफूल, मुस्ताङको स्याउ, स्थानीय आलु, दुग्धजन्य उत्पादन, शिलाजित, ओखरको तेल, मसला, जडीबुटी, कृषि बीउ तथा मललगायतका उत्पादन उपलब्ध हुनेछन्।

त्यसैगरी, मेलामा सेलरोटी, माडा, योमरी, बारा, मःमःलगायत विभिन्न स्थानीय तथा परम्परागत नेपाली खाद्य परिकारको प्रदर्शन तथा बिक्रीसमेत गरिनेछ।

बजारको अर्को विशेषताका रूपमा ढिकी, जातो, घट्ट, डोको–डालोलगायतका परम्परागत सामग्री तथा प्रविधिको प्रदर्शन गरिने आयोजकले जनाएको छ। बालबालिकाका लागि लिङ्गे पिङको व्यवस्था गर्नुका साथै स्थानीय कलाकारबाट सांस्कृतिक प्रस्तुतिसमेत गरिनेछ।

त्यस्तै, ३० भन्दा बढी खरिदकर्तालाई साबुन, आलु, लसुन, प्याज, पिनट बटर, टिमुरको छोप, केरा, हरियो तरकारीदेखि लोकल भाले र बोकासम्मका विभिन्न कृषि उपज तथा दैनिक उपभोग्य वस्तु लक्की ड्रमार्फत पुरस्कारस्वरूप प्रदान गर्ने कार्यक्रमसमेत राखिएको छ।
आयोजकका अनुसार दशैं बजार बिक्री–वितरणमा मात्र सीमित नभई किसान, उत्पादक, उपभोक्ता, निजी क्षेत्र तथा संस्थागत बजारबीच दीर्घकालीन सम्बन्ध विकास गर्ने उद्देश्यले आयोजना गरिएको हो।
बजारमार्फत स्थानीय उत्पादनको पहिचान र मूल्य अभिवृद्धि, किसानको बजार पहुँच विस्तार तथा नेपाली मौलिक खाद्य संस्कृतिको संरक्षण र प्रवर्द्धनमा योगदान पुर्‍याउने लक्ष्य राखिएको छ।

रैथाने एग्री प्रोडक्ट्स नेपालले स्थानीय उत्पादन, किसान तथा परम्परागत खाद्य संस्कृतिको संरक्षण र प्रवर्द्धनलाई आफ्नो सामाजिक उत्तरदायित्वको महत्वपूर्ण पक्षका रूपमा अघि बढाउँदै आएको जनाएको छ। कम्पनीले कार्यक्रमलाई प्रभावकारी बनाउन सरकारी निकाय, विकास साझेदार, गैरसरकारी संस्था, निजी क्षेत्र तथा समान उद्देश्य भएका संस्थाहरूसँग सहकार्य गर्ने जनाएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु