
काठमाडौं । सातदेखि १३ वर्ष उमेर समूहका चार सय बालबालिकाबाट छनोट भएका १८० प्रतिभा ‘नेशन्स गट ट्यालेन्ट सिजन–३’ को मेगा अडिसनमा प्रतिस्पर्धा गरिरहेका छन्।
एएनपी मिडिया हाउसको आयोजनामा गत वैशाखदेखि विभिन्न स्थानीय तहमा सञ्चालन गरिएको अडिसनमा चार सय बालबालिकाले सहभागिता जनाएका थिए। स्थानीय चरण पार गर्दै १८० प्रतिभा मेगा अडिसनका लागि छनोट भएका हुन्।
किड्स डान्स विधाको मेगा अडिसन बिहीबारदेखि ओएसआर रियालिटी युट्युब च्यानलमार्फत सार्वजनिक हुन थालेको छ। एपीवान स्टुडियोमा छायांकन गरिएको मेगा अडिसनमा निर्देशक तथा कोरियोग्राफर केशव राज भट्ट, कलाकार तथा मोडल राज टाइगर र मोडल कविता न्यौपाने निर्णायकका रूपमा रहेका छन्।
मेगा अडिसनपछि प्रतियोगिता थप सीमित हुँदै जानेछ। आयोजकका अनुसार १८० प्रतिभामध्ये ८० जना मात्र टेलिभिजन राउन्डमा प्रवेश गर्नेछन्। एएनपी मिडिया हाउसका प्रबन्ध निर्देशक लबबहादुर कार्कीका अनुसार निर्णायकको छनोटबाट ६० जना र दर्शकको भोटिङबाट २० जना गरी ८० प्रतिभा छनोट गरिनेछ।
यससँगै स्थानीय तहबाट सुरु भएको बाल प्रतिभाको खोजी अब मेगा अडिसन हुँदै टेलिभिजनको मुख्य प्रतिस्पर्धातर्फ अघि बढेको छ। निर्णायकको मूल्यांकनसँगै दर्शकको मतसमेत निर्णायक बन्ने भएकाले प्रतियोगी बालबालिकाका लागि आगामी चरण थप चुनौतीपूर्ण बन्ने देखिएको छ।
प्रनीमा दाहालले सञ्चालन गरिरहेको शोमा शम्भु प्रसाद रेग्मी संयोजक, अनीता तामाङ प्रशासन प्रमुख तथा लोमशबहादुर कार्की र लबिसकुमार कार्की इभेन्ट म्यानेजर रहेका छन्।
चार सयबाट सुरु भएको प्रतिभा खोजी अब १८० हुँदै ८० प्रतिभाको यात्रातर्फ अघि बढेको छ। मेगा अडिसन पार गर्ने प्रतिभाले टेलिभिजनको मुख्य मञ्चमा आफ्नो कला प्रस्तुत गर्ने अवसर पाउनेछन्।


