दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

कांग्रेसको केन्द्रीय सदस्यमा कलाकार प्रकाश कटुवालको उम्मेदवारी घोषणा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ आश्विन १८ गते, आईतवार १९:४०

काठमाडौं । चर्चित लोकदोहोरी गायक तथा सर्जक एवं राष्ट्रिय संगीतकर्मी संघका केन्द्रीय अध्यक्ष प्रकाश कटुवालले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

रामेछापबाट खुलातर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएपछि कटुवालले पार्टी संगठनमा आफ्नो भूमिका थप प्रभावकारी बनाउने उद्देश्यसहित केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन्।
कटुवालले कांग्रेसको नीति, विचार, संगठन र लोकतान्त्रिक मूल्य–मान्यतालाई आत्मसात् गर्दै पार्टी संगठनलाई थप सुदृढ, चलायमान र प्रभावकारी बनाउन आफूले उम्मेदवारी दिन लागेको बताएका छन्। उनका अनुसार महाधिवेशन प्रतिनिधिको भूमिका केन्द्रमा पुगेर मतदान गर्नेमा मात्र सीमित नभई आफ्नो क्षेत्रका जनताको आवाज, आवश्यकता र अपेक्षा पार्टी नेतृत्वसम्म पुर्‍याउनु पनि हो।

“केन्द्रीय महाधिवेशन प्रतिनिधि केन्द्रमा भोट हाल्न जाने मात्रै होइन। आफ्नो ठाउँको आवाज केन्द्रसम्म पुर्‍याउने र पार्टीभित्र आफ्नो क्षेत्रको प्रभावकारी उपस्थिति स्थापित गर्ने जिम्मेवारी पनि हो,” कटुवालले भने।
रामेछापबाट महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाचित गराएकोमा मतदाताप्रति आभार व्यक्त गर्दै कटुवालले प्राप्त विश्वासलाई आफूले थप जिम्मेवारीका रूपमा लिएको बताएका छन्। रामेछापको राजनीतिक उपस्थिति केन्द्रमा अझ बलियो बनाउने, जिल्लावासीका सुख–दुःखमा साथ दिने तथा युवाको सहभागिता कांग्रेसको मूलधारमा विस्तार गर्ने आफ्नो प्राथमिकता रहेको उनको भनाइ छ।

कलाकारितामार्फत लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय कटुवाल राष्ट्रिय संगीतकर्मी संघका केन्द्रीय अध्यक्षसमेत हुन्। लोकदोहोरी क्षेत्रमा स्थापित पहिचान बनाएका उनी पछिल्लो समय सामाजिक तथा राजनीतिक गतिविधिमा पनि सक्रिय रहँदै आएका छन्। कलाकारिताबाट प्राप्त अनुभव र लोकप्रियतालाई सामाजिक सेवासँग जोड्दै राजनीतिमार्फत जनताको सेवा गर्ने उद्देश्य रहेको उनले बताएका छन्।
कटुवाल नेपाली कांग्रेसका नेता गगन थापाको नेतृत्वमा भएको विशेष महाधिवेशनको तयारीका क्रममा थापाको पक्षमा खुलेर सक्रिय भएका थिए। त्यसयता उनी कांग्रेसका संगठनात्मक गतिविधिमा थप सक्रिय देखिएका छन्। राजनीतिमा व्यक्तिगत लाभभन्दा पनि समाजसेवा गर्ने उद्देश्यले आएको उनको दाबी छ।
रामेछापको उमाकुण्ड गाउँपालिका–३ का क्षेत्रीय प्रतिनिधिसमेत रहेका कटुवाल १५औँ महाधिवेशनका लागि खुलातर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधिमा लोकप्रिय मतसहित निर्वाचित भएका हुन्। प्रतिनिधिमा निर्वाचित भएपछि नै उनले पार्टी संगठनमा युवाको भूमिका थप प्रभावकारी बनाउने र जिल्लाका मुद्दालाई केन्द्रसम्म पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका थिए।

केन्द्रीय सदस्यको उम्मेदवारी घोषणा गर्दै कटुवालले कांग्रेसलाई समयअनुकूल बनाउन युवाको सक्रिय सहभागिता अपरिहार्य रहेको बताए। नयाँ पुस्तालाई पार्टीभित्र अवसर दिने, कार्यकर्ताका समस्या र आवाज नेतृत्व तहसम्म पुर्‍याउने तथा संगठनलाई जनतासँग अझ नजिक बनाउने विषयलाई आफूले प्राथमिकतामा राख्ने उनले बताए।
उनले आफूलाई महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाचित गराउने रामेछापका मतदाताको विश्वासलाई केन्द्रीय सदस्यको उम्मेदवारीसँग जोडिएको जिम्मेवारीका रूपमा लिएका छन्। साथै, आगामी निर्वाचनमा आफूलाई अमूल्य मत दिएर विजयी गराउन कांग्रेसका सम्पूर्ण केन्द्रीय महाधिवेशन प्रतिनिधिलाई आग्रह गरेका छन्।
“मलाई विश्वास गरेर महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाचित गराउनुहुने रामेछापका सम्पूर्ण मतदाताप्रति हार्दिक आभार व्यक्त गर्दछु। अब त्यो विश्वासलाई संगठन निर्माण र जनसेवामा रूपान्तरण गर्ने मेरो जिम्मेवारी हो। सम्पूर्ण केन्द्रीय महाधिवेशन प्रतिनिधिज्यूहरूलाई केन्द्रीय सदस्य पदमा आफ्नो अमूल्य मत दिएर भारी मतका साथ विजयी गराइदिनुहुन हार्दिक आग्रह गर्दछु,” कटुवालले भने।

कलाकारिता क्षेत्रमा बनाएको लोकप्रियता, राष्ट्रिय संगीतकर्मी संघको नेतृत्व अनुभव र कांग्रेसको संगठनात्मक राजनीतिमा बढ्दो सक्रियतालाई आधार बनाउँदै कटुवालले आफ्नो राजनीतिक यात्रालाई नयाँ चरणमा प्रवेश गराएका छन्। उनको उम्मेदवारीसँगै कांग्रेसको १५औँ महाधिवेशनमा कलाकारिता क्षेत्रबाट पार्टीको केन्द्रीय नेतृत्वमा प्रतिनिधित्व खोज्ने प्रयाससमेत चर्चामा आएको छ।
कटुवालले भने आफ्नो उम्मेदवारीलाई व्यक्तिगत आकांक्षाभन्दा पनि रामेछापको राजनीतिक आवाजलाई केन्द्रमा स्थापित गर्ने तथा पार्टी संगठनमा युवाको प्रभावकारी सहभागिता बढाउने अभियानका रूपमा प्रस्तुत गरेका छन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु