
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) की पूर्व अध्यक्ष तथा समाजसेवी रबिना थापाले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य (महिला तर्फ) उम्मेदवारी घोषणा गरेकी छन्। नेपाली जनसम्पर्क समितिको प्रतिनिधित्व गर्दै उम्मेदवारी घोषणा गरेकी थापाले लोकतन्त्र, समावेशिता, महिला तथा युवा सहभागिता र प्रवासी नेपालीका मुद्दालाई आफ्नो राजनीतिक प्राथमिकताको केन्द्रमा राखेकी छन्।
लामो समयदेखि गैरआवासीय नेपाली अभियान, सामाजिक सेवा तथा महिला सशक्तीकरणमा सक्रिय थापाले विदेशमा रहेका नेपालीले आर्जन गरेको ज्ञान, सीप, अनुभव, प्रविधि र पूँजीलाई नेपालको आर्थिक विकाससँग जोड्नुपर्ने बताएकी छन्। उनका अनुसार डायस्पोरामा रहेका नेपालीलाई केवल विदेशमा रहेका समुदायका रूपमा नभई नेपालको विकासका महत्वपूर्ण साझेदारका रूपमा हेर्ने नीति आवश्यक छ।
थापाले विदेशमा रहेका नेपाली तथा भावी पुस्ताको नेपालसँगको सम्बन्ध अझ बलियो बनाउँदै उनीहरूको हक, अधिकार र योगदानलाई राज्यको नीति निर्माणसँग संस्थागत रूपमा जोड्नुपर्ने धारणा राखेकी छन्। गैरआवासीय नेपाली नागरिकता तथा अधिकारसँग सम्बन्धित विषयलाई समेत राजनीतिक र नीतिगत तहबाट प्रभावकारी रूपमा अघि बढाउनुपर्ने उनको भनाइ छ।
“डायस्पोरामा बसेर आवाज उठाउनु मात्र पर्याप्त हुँदैन। विदेशमा रहेका नेपालीको ज्ञान, सीप, अनुभव र पूँजीलाई नेपालको विकाससँग जोड्न नीति निर्माण तहमा प्रभावकारी राजनीतिक सहभागिता आवश्यक छ,” थापाले भनिन्। उनले आफूले गैरआवासीय नेपाली अभियानमा नेतृत्व गर्दा विश्वभरका नेपाली समुदायका समस्या, सम्भावना र अपेक्षालाई नजिकबाट बुझ्ने अवसर पाएको बताइन्।
महिला र युवाको अर्थपूर्ण राजनीतिक सहभागिता बढाउनुपर्नेमा जोड दिँदै थापाले नेतृत्वमा महिलाको उपस्थिति संख्यात्मक प्रतिनिधित्वमा मात्र सीमित नभई निर्णय प्रक्रिया र नीति निर्माणमा समेत प्रभावकारी हुनुपर्ने बताएकी छन्। साथै, स्वदेशमै रोजगारी र उद्यमशीलताको अवसर सिर्जना, लगानीमैत्री वातावरण निर्माण तथा विदेशमा रहेका नेपालीको पूँजी र सीपलाई देशभित्र परिचालन गर्नुपर्ने उनको प्राथमिकता छ।
आफ्नो उम्मेदवारीलाई व्यक्तिगत पद प्राप्तिको प्रयासभन्दा पनि वर्षौंको सामाजिक तथा गैरआवासीय नेपाली अभियानबाट प्राप्त अनुभवलाई राष्ट्रिय राजनीतिको नीति निर्माणमा उपयोग गर्ने अभियानका रूपमा प्रस्तुत गर्दै थापाले समृद्ध, समावेशी र लोकतान्त्रिक नेपाल निर्माणमा योगदान दिने प्रतिबद्धता व्यक्त गरेकी छन्। उनको उम्मेदवारीसँगै कांग्रेसको केन्द्रीय नेतृत्वमा महिला प्रतिनिधित्व, डायस्पोरा सहभागिता र प्रवासी नेपालीको ज्ञान तथा पूँजीलाई नेपालको आर्थिक रूपान्तरणसँग जोड्ने बहस थप चर्चामा आउने देखिएको छ।


