
काठमाडौँ, असोज २०, २०८३। अन्तर्राष्ट्रिय लोक संस्कृति तथा नृत्यको प्रतिष्ठित संस्था अन्तर्राष्ट्रिय नृत्य महोत्सव महासंघ (FIDAF) को बोर्ड अफ डाइरेक्टरमा नेपालका आरसी कोइराला ‘रामचन्द्र’ पुनः निर्विरोध निर्वाचित हुनुभएको छ।
दक्षिण कोरियाको चेओनन शहरमा सम्पन्न FIDAF को कार्यकारी समिति बैठक तथा अधिवेशनबाट कोइराला चार वर्षे कार्यकालका लागि ३३ सदस्यीय कार्यकारी बोर्डमा सर्वसम्मत निर्वाचित हुनुभएको हो। अधिवेशनमा विश्वका ११२ राष्ट्रका १४२ जना प्रतिनिधि तथा पदाधिकारीको सहभागिता रहेको थियो।
एभरेष्ट नेपाल कल्चरल ग्रुपका संस्थापक अध्यक्ष कोइरालाले यसअघि पनि FIDAF को बोर्ड अफ डाइरेक्टर तथा एसिया महादेशका उपाध्यक्षका रूपमा जिम्मेवारी सम्हालिसक्नुभएको छ। उहाँले नेपाली कला, संस्कृति, परम्परा तथा लोकनृत्यको प्रवर्द्धनका लागि ८५ भन्दा बढी देशमा सांस्कृतिक प्रतिनिधिमण्डलको नेतृत्व गरिसक्नुभएको छ।
कोइरालाको पुनः निर्विरोध निर्वाचनसँगै अन्तर्राष्ट्रिय मञ्चमा नेपाली कला र संस्कृतिको प्रवर्द्धनमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ। उहाँको सफलताप्रति विभिन्न संस्कृतिविद्, कलाकार तथा संघ–संस्थाले बधाई तथा शुभकामना व्यक्त गरेका छन्।


