
२५ असोज, काठमाडौं । नेपालीहरूको महान् पर्व बडादशैं आजदेखि सुरु भएको छ। पहिलो दिन आज घर–घरमा विधिपूर्वक घटस्थापना र जमरा राखिँदैछ।
पञ्चाङ्ग निर्णायक समितिका अनुसार घटस्थापनाको शुभसाइत बिहान ११:४७ बजे रहेको छ। यसै दिनदेखि सुरु हुने नवरात्रमा दुर्गाका नौ स्वरूपको पूजा–आराधना गरिन्छ।
घटस्थापनामा पवित्र माटोमा जौ छरेर जमरा राख्ने परम्परा छ। शास्त्रीय विधिअनुसार जमराका लागि जौ नै प्रयोग गरिन्छ।
बडादशैं असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाइन्छ। देशभरका शक्तिपीठ तथा देवी मन्दिरमा आजदेखि भक्तजनको चहलपहल बढ्नेछ।
यस वर्ष विजयादशमीको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०:२६ बजे रहेको छ।


