
काठमाडौं। बरिस्ठ पर्यटन व्यवसायी तथा ‘आधा शताब्दी’ पुस्तकका लेखक रामप्रसाद सापकोटा सम्मानित हुनुभएको छ। राष्ट्रिय संगीतकर्मी संघद्वारा आयोजित दशैं विशेष शुभकामना आदानप्रदान तथा ‘स्रष्टा सम्मान’ कार्यक्रममा सापकोटालाई सम्मान गरिएको हो।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा पर्यटन व्यवसाय, समाजसेवा तथा साहित्यिक क्षेत्रमा पुर्याउनुभएको योगदानको कदर गर्दै सापकोटालाई सम्मान प्रदान गरिएको हो।
धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–७, अचनेमा जन्मिनुभएका सापकोटा हाल होटल, ट्राभल, हेलिकप्टर तथा जलविद्युत् व्यवसायमा सक्रिय हुनुहुन्छ। व्यवसायसँगै पर्यटन प्रवर्द्धन र सामाजिक सेवामा समेत सक्रिय उहाँले आफ्नो जीवनयात्रा, संघर्ष र अनुभवलाई ‘आधा शताब्दी’ पुस्तकमार्फत प्रस्तुत गर्नुभएको छ।
ग्रामीण परिवेशबाट व्यावसायिक यात्रा सुरु गरी विभिन्न क्षेत्रमा स्थापित हुनुभएका सापकोटाको जीवनयात्रा नयाँ पुस्ताका लागि प्रेरणादायी रहेको सहभागीहरूले बताएका छन्।
कार्यक्रम राष्ट्रिय संगीतकर्मी संघका केन्द्रीय अध्यक्ष प्रकाश कटुवाल तथा संघका वरिष्ठ उपाध्यक्ष रमेश दुलालको संयोजकत्वमा सम्पन्न भएको थियो। संघका महासचिव विनोद ढकालले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। समारोहमा कला, संगीत, संस्कृति, पर्यटन तथा व्यवसायिक क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो।


