
भरतपुर । चितवन उद्योग संघको ३५औँ वार्षिक साधारणसभामा विभिन्न संस्था तथा व्यक्तिलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम र संघका अध्यक्ष मदन घिमिरेले संयुक्त रूपमा सम्मान तथा पुरस्कार प्रदान गर्नुभएको हो।
साधारणसभाका अवसरमा आर्थिक वर्ष २०८२/०८३ मा संघका पालिका समितिमध्ये सर्वोत्कृष्ट घोषित चितवन उद्योग संघ रत्ननगर समितिका अध्यक्ष सुवासचन्द्र गौतमसहित कार्यसमितिलाई अवार्डसहित सम्मान गरिएको थियो।
त्यस्तै, संघमा उत्कृष्ट कार्य गर्दै आएका सञ्चार अधिकृत राजु भट्टलाई ‘वर्ष उत्कृष्ट कर्मचारी’ अवार्ड प्रदान गरिएको छ। संघका गतिविधि, औद्योगिक कार्यक्रम तथा संस्थागत सञ्चारमा पुर्याएको योगदानको कदरस्वरूप भट्टलाई उक्त सम्मान प्रदान गरिएको हो।
यसैगरी संघले निर्माण गरेको औद्योगिक प्रदर्शनीको प्रवद्र्धनमा योगदान पुर्याउने विभिन्न संस्था तथा व्यक्तिहरूलाई समेत सम्मान गरिएको छ।
चितवन अटोमोबाइल डिलर्स एशोसिएसनका निवर्तमान अध्यक्ष तथा चितवन अटो शो २०२५ र २०२६ का संयोजक राजन पिया, वर्तमान उपाध्यक्ष यज्ञ पौडेलसहित कार्यसमिति, चितवन अटोमोबाइल एशोसिएसन तथा डेरी एक्स्पो आयोजना गर्ने पक्षलाई समेत सम्मान गरिएको जनाइएको छ। साधारणसभाले उद्योग, व्यवसाय तथा औद्योगिक प्रदर्शनीको प्रवद्र्धनमा योगदान पुर्याउने व्यक्ति तथा संस्थाको भूमिकालाई सम्मान गर्दै आगामी दिनमा समेत सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।


